Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | रासस

 कर्णाली, २७ असोजः मानव स्वास्थ्य र समुन्नत राष्ट्र निर्माणका लागि खाद्य स्वच्छता अपरिहार्य शर्त हुनुपर्नेमा जोड दिइएको छ ।
 
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सचेतनामूलक सन्देश प्रचारप्रसार कार्यक्रम’मा सरोकारवालाले खाद्यजन्य समस्याको समाधानका लागि सबैतिर स्वच्छ खानपान आवश्यक रहेको बताएका हुन् । 

    सो कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रप्रसाद सापकोटाले कर्णाली प्रकृतिले भरिपूर्ण र उन्नत प्रदेश भएकाले यहाँको उत्पादनदेखि उपभोगसम्म स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रजिअ सापकोटाले भन्नुभयो, “हामी स्वअनुशासित हुन जरुरी छ । खानाले नै स्वस्थ शरीर बनाउने हो । नागरिक स्वस्थ भए देश नि स्वस्थ र समृद्ध बन्दछ तसर्थ, भान्सा र शौचालय दुवै सफा राखौँ । चाडपर्वमा उपभोग्य वस्तुको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा आउने गम्भीर समस्याबाट बच्न र बचाउन विशेष भूमिका खेलौँ ।” 

    उहाँले आगामी मङ्सिरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सबै पाहुनालाई स्वच्छ खाद्य उपलब्ध गराएर सभ्य नागरिकको पहिचान दिने वातावरण सिर्जना गर्न सञ्चार जगत्लाई आग्रह गर्नुभयो ।  

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम न्यौपानेले खाद्य स्वच्छतालाई कायम राख्दै स्वदेशी उद्योगहरुलाई कसरी संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने भन्नेतर्फ पनि ध्यान दिइएको बताउनुभयो । 

    उहाँले खेलकुद र चाडपर्वको समयमा बजारमा स्वच्छ र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउनेतर्फ आफूहरु केन्द्रित रहेको बताउनुभयो । हरेक मानिस उपभोक्ता भएकाले स्वच्छ खाना उपलब्ध गराउँदै मापदण्डविपरीत अखाद्य वस्तुको उत्पादन, भण्डारण र बिक्रीवितरणमा नियमन गरिने उहाँको भनाइ थियो । 

    उहाँका अनुसार सबै व्यवसायीले आ–आफ्नो फर्मको अनिवार्य दर्ता, नवीकरण र खाद्य अनुज्ञापत्र लिइ मापदण्ड पालना गनैैपर्छ । अटेर गरेमा उद्योग नै बन्द गराउनेसम्मको कदम चाल्न कार्यालय बाध्य हुने उहाँको भनाइ छ ।  खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले कार्यक्रममा चालु आर्थिक वर्षको असोज महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan