सूचना प्रविधि प्रयोगशाला
काठमाडौँ, ८ कात्तिक : मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ ।
विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२/०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुग्दै आएको छ ।
यस्तै वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्यालयमा विद्युत् पहुँच पुगेको छ । सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा पुगेको देखिएको छ । पछिल्लो वर्षको तथ्याङ्क अुनसार हाल मुलुकभर ३५ हजार ९५१ विद्यालयमध्ये धार्मिक प्रकृतिका सहित २७ हजार १० सामुदायिक विद्यालय रहेका छन् ।

