नास्टीको अन्तरिम व्यवस्थापन समिति गठन, पुनर्संरचनाको प्रक्रिया अघि बढाइने
काठमाडौं, कात्तिक १२ — नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्टी) को काम–कारबाही सञ्चालन तथा संस्थागत पुनर्संरचनाको प्रक्रिया अघि बढाउन डा. जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन गरिएको छ।
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ मा रहेको संक्रमणकालीन व्यवस्थाबमोजिम प्रज्ञा सभा गठन तथा अध्यक्ष र उपाध्यक्ष नियुक्ति नभएसम्मका लागि बढीमा तीन महिनाको अवधि रहने गरी समिति गठन गरिएको हो। माननीय मन्त्रीस्तरको २०८३ कात्तिक ११ गतेको निर्णयअनुसार गठित समितिमा डा. लामिछाने संयोजक रहनुभएको छ।
समितिका सदस्यहरूमा डा. गोपालबहादुर केसी, डा. सुनिलकुमार सिंह, डा. बबिता पौडेल र डा. रेश्मा श्रेष्ठ रहनुभएको छ।
यसैबीच, कात्तिक १२ गते बिहान ९ बजे मन्त्रालयमा आयोजित कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले समितिमा मनोनित संयोजक तथा सदस्यहरूलाई मनोनयन पत्र प्रदान गर्नुभयो। सो अवसरमा उहाँले अध्यादेशको मर्म र व्यवस्थाबमोजिम नास्टीको पुनर्संरचनासम्बन्धी काम तत्काल अघि बढाउन निर्देशन दिनुभयो।
मन्त्री पुनले प्रतिष्ठानको पुनर्संरचनाका लागि आवश्यक नियमावली तथा विनियमावलीको मस्यौदा तयार गर्ने, प्राज्ञ सभाको गठन प्रक्रिया अगाडि बढाउने तथा प्रतिष्ठानको अध्यक्षको निर्वाचन र उपाध्यक्षको मनोनयनसम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।
अध्यादेशले परिकल्पना गरेको संस्थागत संरचनालाई कार्यान्वयनमा लैजान आवश्यक आधारभूत काम शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले सम्बन्धित निकायबीच समन्वय कायम गरेर काम अघि बढाउन निर्देशन दिनुभएको हो।
अन्तरिम व्यवस्थापन समितिका संयोजक तथा सदस्यहरूले मन्त्रालय, नास्टी परिवार र सम्बन्धित सरोकारवालासँग समन्वय गरी अध्यादेशमा व्यवस्था भएअनुसार प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी आधारभूत काम तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तीन महिनासम्मका लागि गठन गरिएको समितिले प्रतिष्ठानको भावी संस्थागत संरचना निर्माण, आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था तयार गर्ने र प्राज्ञ सभा गठन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सहजीकरण गर्नेछ।
अन्तरिम व्यवस्थापन समिति गठनसँगै नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको संस्थागत विकासका लागि नास्टीलाई नयाँ संरचनाअनुसार अघि बढाउने प्रक्रिया सुरु भएको छ। अब समितिले अध्यादेशमा तोकिएका व्यवस्था कार्यान्वयन गर्न कति प्रभावकारी रूपमा काम अघि बढाउँछ भन्ने विषय प्रतिष्ठानको आगामी संरचना र कार्यदिशाका दृष्टिले महत्त्वपूर्ण हुनेछ।

