Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

बागमती, १६ कात्तिकः हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ्घ कोब्रा) को सुुरक्षित उद्धार गरिएको छ ।

    स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा ‘दीप’ ले करिब आधा घण्टाको प्रयासपछि सुुरक्षित उद्धार गर्नुभएको हो ।  
    
    पसलको दराजमा सर्प देखिएपछि स्थानीय वडा सदस्य सिंहबहादुरले उद्धारकर्ता राजेश र रोशनलाई  खबर गरेसँगै उहाँहरूले राजगोमनलाई सुरक्षित रूपमा नियन्त्रणमा लिनुभएको हो । 
    
    त्यसअघि स्थानीयवासीले सर्पलाई भगाउने प्रयासमा पेट्रोल खन्याएको कारण उद्धारमा थप चुनौती सिर्जना भएको बताउँदै उद्धारकर्ता राजेशले धुवाँ लगाएर पेट्रोल खन्याइएपछि सर्प आक्रामक बन्दा सुरक्षित रूपमा नियन्त्रणमा लिन विशेष सावधानी अपनाउनुपरेको बताउनुभयो ।

    सर्पलाई धपाउने उद्देश्यले पेट्रोल वा डिजेल प्रयोग गर्नु जोखिमपूर्ण हुने बताउँदै उहाँले सामान्य अवस्थामा रहेको सर्पले समेत आफूलाई खतरा महसुस गरेमा आक्रमण गर्न सक्ने भएकाले यस्तो गतिविधि नगर्न आग्रह गर्नुभयो ।

    वडा सदस्य सिंहबहादुरले स्थानीयवासीको सहयोगमा उद्धार गरिएको राजगोमनलाई मानव बस्तीबाट टाढा जङ्गलमा सुरक्षित रूपमा छाडिएको उद्धारकर्ता रोशनले बताउनुुभयो ।
    
    आफूहरूले हालसम्म १६ पटक राजगोमनको उद्धार गरिसकेको बताउँदै उहाँले हेटौँडासहित मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाका विभिन्न स्थानबाट  राजगोमन उद्धार गरिएको बताउनुभयो ।

    यसअघि १४औँ पटकको उद्धारका क्रममा आफूूलाई बकैया र बागमती गाउँपालिकाको सीमावर्ती क्षेत्रमा राजगोमनले टोकेको बताउनुभयो ।
    
    राजगोमन विश्वकै सबैभन्दा लामो विषालु सर्प भएको बताउँदै उहाँले यसको विषले स्नायु प्रणालीमा गम्भीर असर पु¥याउन सक्ने बताउनुुभयो ।

    उहाँका अनुुसार गोमनको टोकाइबाट मानिसको ज्यानसमेत जान सक्छ । यद्यपि, राजगोमनले सामान्यतया मानिसलाई आक्रमण गर्न खोज्दैन । खतरा महसुस गरेमा भने आफ्नो सुरक्षाका लागि आक्रामक बन्न सक्छ । 
    
    सर्पलाई मार्नुको सट्टा उद्धार गरी प्राकृतिक वासस्थानमा फर्काउनुपर्ने उल्ल्ेख गर्दै उहाँले वातावरणीय सन्तुलन कायम राख्न र खाद्य शृङ्खलालाई व्यवस्थित बनाउन सर्पको महत्वपूर्ण भूमिका हुने भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो । 

    मकवानपुरमा राजगोमनका अतिरिक्त मोनोसेलेट कोब्रा, स्पेक्टाकल्ड कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर र रेडनेक किलब्याकलगायतका विभिन्न प्रजातिका सर्प पाइन्छन् । 

    सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आवश्यक रहेको बताइन्छ । 
    
    सर्पको उद्धारपछि डिभिजन वन कार्यालय मकवानपुरसँगको समन्वयमा सुरक्षित वासस्थानमा छाड्ने गरेको उहाँले जानकारी दिनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan