Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | (रासस)

चितवन, २१ कात्तिकः चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो ।

स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ पठाएको छ । यसैगरी, ५०० वटा विशिष्ट व्यक्तिका लागि तयार गरिएका (भिआइपी) माला र ५०० किलो सयपत्री फूलका थुङ्गा पनि हङ्कङ पठाइएको बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार सयपत्रीका माला र एक हजार किलो फूलका थुङ्गा दुबई तथा ५०० वटा मखमलीका माला बेलायत पठाइएको छ ।

    ती देशमा रहेका नेपाली व्यवसायीले चितवनबाट माला खरिद गरेर लगेका हुन् । सात वर्षअघि पाँच कठ्ठा जमिनबाट सुरु गरिएको व्यावसायिक फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । त्यसमध्ये पाँच बिघामा तिहारलाई लक्षित गरी फूलखेती गरिएको छ भने बाँकी जमिनमा बेमौसमी फूल उत्पादन हुँदै आएको छ ।

    बाँस्तोलाका अनुसार उत्पादित माला नेपाली बजारमा प्रतिगोटा रु ८० र विदेशमा रु १०० मा बिक्री हुने गरेको छ ।

    परिवारका चार दाजुभाइमध्ये तीन जनाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् । गोविन्द चितवन मेडिकल कलेजमा अध्यापन गर्नुहुन्छ । कोरोना महामारीका कारण रोजगारी गुमेपछि सुरु गरिएको फूलखेतीबाट अहिले वार्षिक रु ७० देखि ८० लाखसम्मको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।

    सुरुमा तीन जनाको समूहले फूलखेती थालेको भए पनि अहिले परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छन् । “सुरुमा सहकार्य गर्नुभएका साथीहरू परिस्थिति सहज भएपछि आआफ्नो कार्यक्षेत्रमा फर्किनुभयो । अहिले हामी परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

    विसं २०८० बाहेक अन्य वर्षमा फूलखेतीबाट राम्रो आम्दानी भएको बाँस्तोलाले बताउनुभयो । यस वर्ष तिहारलाई लक्षित गरी पाँच बिघा जमिनमा लगाइएको फूलबाट ३० देखि ४० हजार माला र ५०० किलो फूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । अन्य समयमा मासिक छ हजारभन्दा बढी माला उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    यस वर्षको तिहारमा २० देखि २५ जनालाई रोजगारी दिएर करिब रु २५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । चितवनमा उत्पादित फूलको मुख्य बजार काठमाडौँ, पोखरा, हेटौँडा, बुटवल, धनगढी, नेपालगञ्ज र बागलुङलगायत सहर हुन् । उत्पादित फूलमध्ये करिब ४० प्रतिशत चितवनमै खपत हुने र बाँकी अन्य जिल्लामा बिक्रीका लागि पठाइने बाँस्तोलाले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan