Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युद्धबन्दी विवादका बाबजुद युक्रेनलाई सहयोग जारी राख्ने दक्षिण कोरियाको प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | (रासस/एएफपी)

उत्तर कोरियाली युद्धबन्दीलाई सोल पठाएको विषयमा युक्रेनसँग कूटनीतिक विवाद उत्पन्न भए पनि दक्षिण कोरियाले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

    दक्षिण कोरियाको विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार अन्तरराष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रूपमा युक्रेनलाई सहयोग उपलब्ध गराउने आफ्नो नीतिगत अडान कायम रहने बताउनुभएको छ ।

    ‘जुङआङ इल्बो’ पत्रिकाका अनुसार, विदेश मन्त्रालयले आगामी वर्षको बजेटमा युक्रेनका लागि करिब १० करोड अमेरिकी डलर सहयोग प्रस्ताव गरेको छ । प्रस्तावित सहयोगमध्ये पाँच करोड डलर नेटो ट्रस्ट फन्ड र दुई करोड डलर मानवीय सहायताका लागि छुट्याइएको छ ।

    दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले गत जुलाईमा नेटो शिखर सम्मेलनका क्रममा युक्रेनलाई १० करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो । 

    त्यतिबेला उहाँले युक्रेनी जनतालाई आवश्यक मानवीय सहायता उपलब्ध गराउनुका साथै युक्रेनको पुनरुत्थान तथा पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय प्रयासमा सहभागी हुने बताउनुभएको थियो । 

    विदेश मन्त्रालयका अधिकारीको पछिल्लो भनाइ दुई देशबीच युद्धबन्दीको विषयलाई लिएर तनाव उत्पन्न भएको पृष्ठभूमिमा आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत सेप्टेम्बरमा रुसका तर्फबाट युद्ध लडिरहेका बेला पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई युक्रेनले सोल पठाएको खुलासा गरेका थिए ।

    दक्षिण कोरियाले उत्तर कोरियामा रहेका ती सैनिकका परिवारको सुरक्षालाई ध्यानमा राख्दै उक्त कदम गोप्य राख्नुपर्ने भन्दै आपत्ति जनाएको थियो । उसले युक्रेनसँग माफी माग्नसमेत आग्रह गरेको थियो । विरोधस्वरूप दक्षिण कोरियाले युक्रेनका लागि आफ्ना राजदूत र दूतावासका केही कर्मचारीलाई फिर्ता बोलाएको थियो ।

    विवाद सुरु भएयता पहिलो पटक बुधबार पेरिसमा दुवै देशका विदेशमन्त्रीबीच भेटवार्ता भएको थियो । भेटमा दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले दुई देशबीचका बाँकी समस्याहरू सौहार्दपूर्ण रूपमा समाधान हुने आशा व्यक्त गर्नुभएको थियो । 

    युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै दक्षिण कोरियासँग गतिशील र व्यावहारिक साझेदारी विकास गर्न आफ्नो देश तयार रहेको बताउनुभएको थियो । यस्तो साझेदारी आपसी हित तथा रुसको युद्धमा उत्तर कोरियाको संलग्नताबाट उत्पन्न साझा सुरक्षा चुनौतीमा आधारित हुने उहाँको भनाइ थियो ।

    सिबिहाले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गरेकोमा दक्षिण कोरियाप्रति आभार व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई पूर्ण रूपमा सामान्य बनाउन थप कदम चालिने विश्वाससमेत व्यक्त गर्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan