बर्दियाका ग्रामीण क्षेत्रमा सडक तथा पुल निर्माणको तयारी
बर्दिया, २ मङ्सिरः वर्षौंदेखि सडक तथा पुलको अभावमा सास्ती भोग्दै आएका बर्दियाका ग्रामीण बस्तीमा पूर्वाधार निर्माणका योजना अघि बढाउने तयारी गरिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गर्ने गरी प्रस्ताव गरिएका सडक तथा पुल योजनाको पूर्वाधार विकास डिभिजन कार्यालय नेपालगञ्जले स्थलगत निरीक्षण गरेको छ ।
ठेक्का प्रक्रिया अघि बढाउने पूर्वतयारीस्वरूप कार्यालयको प्राविधिक टोलीले मङ्गलबार जिल्लाका विभिन्न स्थानमा प्रस्तावित योजनाको निरीक्षण गरेको हो ।
पूर्वाधार विकास डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख लोकेन्द्रबहादुर खड्काका अनुसार बाँसगढी नगरपालिका–२ स्थित घट्टेखोला र वडा नं. ३ स्थित अछारिया खोलामा पुल निर्माणका लागि स्थलगत निरीक्षण गरिएको छ । त्यस्तै, बाँसगढी–९ को माछागढ चोकदेखि थुम्नी गाउँसम्म सडक निर्माण, बाँसगढी–९ को थुम्नी र बारबर्दिया–९ को खैरेनी जोड्ने ग्याङ नदीमा पुल निर्माण तथा खल्ला कतर्निया र बोकलभार जोड्ने झर्नाहिया खोलामा पुल निर्माणका लागि पनि निरीक्षण गरिएको छ ।
बारबर्दिया नगरपालिका–११ स्थित सेमरहवा र फच्कहवा गाउँ जोड्ने जुरपानिया खोलामा पुल निर्माणका लागि समेत प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ ।
डिभिजन प्रमुख खड्काका अनुसार थुम्नी र खैरेनी जोड्ने ग्याङ नदीको पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । उक्त पुलको ठेक्का प्रक्रिया छिट्टै अघि बढाइनेछ । अन्य योजनाको डिपिआर तयार गर्न स्थानीय तथा प्रदेश सरकारसँग समन्वयका लागि पत्राचार गरिएको र डिपिआर तयार नभएका योजनाको स्थानीय पूर्वाधार विकास विभागमार्फत प्रतिवेदन तयार गरिने उहाँले बताउनुभयो ।
बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुको पहलमा जनप्रतिनिधि तथा प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा सांसद थारुले ग्रामीण क्षेत्रमा सडक तथा पुलको अभावमा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्नुपरेको उल्लेख गर्दै बजेट विनियोजन भएका योजना शीघ्र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
डिभिजन प्रमुख खड्काका अनुसार चालु आर्थिक वर्षमा पूर्वाधार विकास डिभिजन कार्यालय नेपालगञ्जमार्फत बर्दियाका विभिन्न सडक तथा पुल योजनाका लागि रु २८ करोड ५० लाख बजेट विनियोजन भएको छ । उक्त बजेट वैकल्पिक सहायक विकास कार्यक्रम, स्थानीयस्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना, सडक सुरक्षा तथा मर्मतसम्भार कार्यक्रम, स्थानीय तहको केन्द्र जोड्ने सडक विकास कार्यक्रम र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलगायतमार्फत खर्च गरिनेछ ।
स्थलगत निरीक्षणका क्रममा बाँसगढी नगरपालिका–३ स्थित अछारिया खोलामा पुल नहुँदा स्थानीयवासीले भोग्नुपरेको समस्या पनि उजागर भएको छ । स्थानीय शुकदेव थारुका अनुसार खोलामा पुल नहुँदा बिरामी पर्दा एम्बुलेन्स गाउँसम्म पुग्न सक्दैन । बिरामीलाई बोकेर खोला तार्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, बारबर्दिया नगरपालिका–९ स्थित खल्ला कतर्निया र बोकलभार जोड्ने झर्नाहिया खोलामा पुल नहुँदा स्थानीयवासीलाई आवतजावत तथा खेतीपाती गर्न समस्या हुँदै आएको छ । स्थानीय फत्तु थारुका अनुसार खोलापारि रहेको खेतमा पुग्न पाँच किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
सडक तथा पुलको अभावमा दैनिक आवतजावत, स्वास्थ्य सेवा र कृषि उपज ओसारपसारमा कठिनाइ भोग्दै आएका ग्रामीण क्षेत्रका बासिन्दाले प्रस्तावित योजना कार्यान्वयन हुने अपेक्षा गरेका छन् ।


