मेदभेदेवद्वारा आणविक हतियार प्रयोगको चेतावनी
मस्को, ८ मङ्सिर : रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले युक्रेन र नेटोका गतिविधिले रुसलाई आणविक हतियार प्रयोगको सम्भावनाबारे विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको दाबी गर्नुभएको छ । तर, यस्तो निर्णय गर्दा सम्भावित क्षति र प्रत्याक्रमणको अनुपातलाई ध्यान दिइने उहाँले बताउनुभएको छ ।
रुसी समाचार संस्था तासका अनुसार एक लेखमा मेदभेदेवले युक्रेन, नेटो सदस्य राष्ट्र र अन्य पश्चिमी मुलुकका गतिविधिले यस्तो परिस्थिति सिर्जना गरेको उल्लेख गर्नुभएको छ । यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै परिस्थितिको विस्तृत विश्लेषणपछि मात्र निर्णय गर्ने उहाँको भनाइ छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले नेटो सदस्यतालाई युक्रेनको स्थायी सुरक्षाको सबैभन्दा स्पष्ट प्रत्याभूति बताउनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालपछि पनि कायम रहने लिखित सुरक्षा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै दुई वर्षे अस्थायी व्यवस्थाले दीर्घकालीन शान्ति सुनिश्चित गर्न नसक्ने बताउनुभएको छ ।
अर्कोतर्फ, पुटिनले रुस, अमेरिका र चीनले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्न साझा जिम्मेवारी वहन गरेको बताउनुभएको छ । युक्रेन युद्धसहित क्षेत्रीय द्वन्द्व समाधान, आर्थिक सम्बन्ध, खाद्य तथा ऊर्जा सुरक्षा र आतङ्कवाद नियन्त्रणमा तीन मुलुकबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि तीन ठूला आणविक शक्तिबीच हतियारको सङ्ख्या घटाउने र आणविक प्रयोगको जोखिम न्यूनीकरण गर्ने विषयमा छलफल हुनुपर्ने बताउनुभएको छ । आणविक हतियार त्याग्नु कठिन भए पनि यसबारे संवाद आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
यसैबीच, तीन मुलुकले संयुक्त राष्ट्रसङ्घमा सुधार र आणविक जोखिम न्यूनीकरणका लागि सहकार्य गर्ने प्रतिबद्धतासहित संयुक्त घोषणापत्र जारी गरेका छन् । घोषणापत्रमा आणविक युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै लड्न नहुने मान्यता दोहोर्याइएको छ ।
