बाढी प्रभावित रसुवा बेतिनीका विद्यार्थीलाई न्यानो कपडा वितरण
चितवन, ८ मङ्सिर : भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामग्री वितरण गरिएको छ ।
चितवन भरतपुरका व्यवसायी एवं समाजसेवी विनोद ढकालको सक्रियतामा बाढीप्रभावित ८५ जना छात्रछात्रालाई कपडा, स्टेसनरी र खेलकुदका सामग्री बितरण गरिएको हो । भोटेकोशीसहित त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका जनताको उद्धार तथा राहत वितरणमा समेत खटिएका समाजसेवी ढकालले स्थानीय बाढी प्रभावित जनताको आग्रहमा उक्त विद्यालयका छात्रछात्रालाई सहयोग स्वरुप अत्यवश्यक सामग्री प्रदान गरेको बताउनुभयो ।
समाजका अति विपन्न, दीनदु:खी, असहाय वर्गलाई सहयोग गर्न पाउँदा खुसी मिल्ने बताउँदै उहाँले भन्नुभयो, “बाढी प्रभावित जनताको राहत उद्धारमा खटिदा दु:ख बुझेको छु, स्थानीय जनताबाट अनुरोध भइ आएकाले केही सहयोग गरौँ भन्ने भावनासहित रसुवा पुगी अत्यावश्यक सामग्री वितरण गरेर आएँ । उहाँले यही सोमबार रसुवामा सहयोग वितरण गरी आज चितवनमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै यसअघि दसैँमा चितवन–कालिका नगरपालिकाको चेपाङ्वस्ती र भरतपुरका विपन्न बस्तीमा खाद्यान्न वितरण गरेको जानाकारी दिनुभयो ।
यसैगरी, चितवन माडीका अतिविपन्न पाँच परिवारलाई आयआर्जनका लागि बाख्राका पाठा वितरण गरेको युवा समाजसेवी ढकालले बताउनुभयो ।
