अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
काठमाडौं, ९ मंसिर : काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं संखमुल बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-२ घर भएका ३२ वर्षीय रूपेश श्रेष्ठ र काठमाडौं क्षेत्रपाटी बस्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २५ वर्षीय रिदम केसी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको पार्किङ एरियाबाट अवैध लागूऔष गाँजा जस्तो देखिने वस्तु करिब ७ किलोग्राम सहित भारत केरेला घर भएका २९ वर्षीय अब्दुल नौसादलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरलाईन्सद्वारा मलेसियाबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-७ चाबाहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका २६ वर्षीय सलमान तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका २५ वर्षीय अनिश राई रहेका छन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५३ प २०४८ र बा ६४ प ७४४१ नम्बरको स्कुटरहरू समेत बरामद गरेको छ ।
थप अनुसन्धानको क्रममा उक्त लागूऔषध काठमाडौं बौद्ध बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-७ घर भएका २१ वर्षीय निकेस सुनुवारसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले निकेसको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ९५ ट्याब्लेट फेला परी निकेस तथा उक्त लागूऔषध कारोबारमा संलग्न झापा गौरादह नगरपालिका-८ घर भएका २१ वर्षीय दिवश गौतमलाई समेत पक्राउ गरेको छ ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय १० मिलिग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-७ बस्ने १९ वर्षीय अनिमिश शिवा समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही पूर्व बस स्टेनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित धरान उपमहानगरपालिका-८ भोटेपुल बस्ने ३३ वर्षीय रविन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ राधामार्ग बस्ने २८ वर्षीय सुरेश राई समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ मुसहरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम १ सय ४० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३० वर्षीय सुधिर प्रसाद खनाल, सुनसरी इटहरी उपमहानगरपालिका-१६ बालग्राम बस्ने २६ वर्षीय अनिराज चौधरी र इनरूवा नगरपालिका-६ घोपाली टोल बस्ने २३ वर्षीय राम थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले प्र.१-०२-००४५ प ४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ कुविर्ता चोक बस्ने ४८ वर्षीय प्रकाश तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय ९० मिलिग्राम र नगद ५२ हजार ४ सय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका-२ ब्रिटिस धाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय दापेम्बा शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २३ वर्षीय सयन मण्डल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, कलैया उपमहानगरपलिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८६ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २१ वर्षीय धिरज गुप्ता समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३३ वर्षीय पुरन कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
