Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दानबहादुर कार्कीलाई सर्वोच्चको झट्का, आईजीपीमा पुनर्बहालीको अन्तरिम आदेश अस्वीकार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

मनोजकुमार केसीलाई आईजीपीका रूपमा काम गर्न बाटो खुला, सरकारको निर्णय तत्काल कार्यान्वयनमा रोक लगाउन अदालत अनिच्छुक

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आफूलाई पूर्ववत् प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले दायर गरेको रिटमा सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधबार भएको सुनुवाइमा कार्कीका तर्फबाट कानुन व्यवसायीहरूले मन्त्रिपरिषद्को निर्णय बदर गर्नुपर्ने जिकिर गरेका थिए। तर, अदालतले तत्कालका लागि कार्कीको मागअनुसार अन्तरिम आदेश जारी नगरेपछि उनलाई आईजीपीमा पुनर्बहाली गर्ने र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई कामकाज गर्न रोक्ने बाटो खुलेन।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानुनविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले मन्त्रिपरिषद्को उक्त निर्णय बदर गरी आफूलाई पूर्ववत् आईजीपी पदमा कायम गर्न माग गरेका थिए।

त्यसैगरी, नयाँ आईजीपीका रूपमा नियुक्त भएका मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकाज गर्न रोक लगाउन पनि उनले अन्तरिम आदेश माग गरेका थिए। तर, सर्वोच्चको पछिल्लो आदेशले तत्कालका लागि कार्कीको माग सम्बोधन भएन।

यसअघि सोमबार (८ मंसिर) का लागि पेसी तोकिए पनि आवश्यक कानुनी प्रक्रिया पूरा नभएको भन्दै सुनुवाइ हुन सकेको थिएन। प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई अदालतको म्याद तामेल नभएको विषय उठाउँदै नेपाल प्रहरीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले नयाँ म्याद जारी गर्न माग गरेका थिए।

त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन आदेश दिएको थियो। साथै, अर्को पेसीमा मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित सक्कल कागजात पेस गर्न पनि सरकारका नाममा आदेश जारी गरेको थियो।

अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको आधिकारिक धारणा स्पष्ट पार्न भनेको थियो। सोही आदेशअनुसार आवश्यक प्रक्रिया अघि बढेपछि बुधबार रिटमाथि सुनुवाइ भएको हो।

कार्कीले आफ्नो पदबाट हटाउने निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै न्यायिक उपचार खोजेका थिए। प्रहरी संगठनको नेतृत्व परिवर्तनसँग जोडिएको यो विवादले सरकारको प्रशासनिक तथा कार्यकारी अधिकार र प्रहरी महानिरीक्षकको पदावधि तथा नियुक्तिसम्बन्धी कानुनी व्यवस्थाबारे समेत बहस सिर्जना गरेको छ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे पनि यसबाट रिटको अन्तिम निरूपण भइसकेको भने होइन। मन्त्रिपरिषद्को निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने मूल प्रश्नमा अदालतले अन्तिम फैसला गर्न बाँकी नै छ।

अब मुद्दाको अन्तिम सुनुवाइ र फैसलाले सरकारको निर्णयको वैधानिकता तथा कार्कीको मागको टुंगो लगाउनेछ। तत्कालका लागि भने मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकका रूपमा कामकाज गर्न कानुनी अवरोध देखिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan