Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रतिनिधिसभाः कप्तानगञ्ज घटनासहित समसामयिक विषयमा ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, १४ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ ।

बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापालाई समय दिनुभयो ।
 
संसद्मा प्रमुख विपक्षी दलका सचेतक थापाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा यसअघि व्यक्त गर्नुभएको भनाइबारे थप स्पष्ट गर्नुपर्ने माग पूरा नभएकाले त्यसलाई निरन्तरता दिँदै विरोध गर्न बाध्य हुनुपरेको बताउनुभयो ।

उहाँले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको निधन भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।

सरकारको पहिलो कर्तव्य नागरिकको जीउधनको रक्षासहित सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने रहेकाले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीले सीमाका विषयमा दुई महिनाअघि संसद्मा बोलेको विषय सच्याउन अनुरोध गर्नुभयो ।

सुकुमवासी समस्याको समाधान छिटो गर्न, रासायनिक मलको व्यवस्था गर्न, मलको खोजीमा भारततर्फ गएका चार जना नेपाली २५–२६ दिनदेखि हराएका र अहिले उनीहरू भारतीय जेलमा थुनामा रहेको भन्ने विषयलाई गम्भीर रुपमा लिई सकुसल नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।
 
यही साउन १० गते सुनसरी जिल्लामा भएको घटनामा दङ्गा नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाउनुभयो । उत्तेजना, आवेगले ठीक ठाउँमा नपुग्ने भएकाले संयमता अपनाउन र कप्तानगञ्ज घटनाको जिम्मा लिन सरकारसँग अनुरोध गर्नुभयो । ‘सबै बाँचौँ, सबैलाई बचाऔँ’ को अवधारणामा काम गर्नुपर्ने भनाइ सांसद अर्यालको थियो ।

यसैगरी, देशभर वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरण तथा रोकथामका लागि  सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग पटकपटक गर्दा पनि पूरा नभएको भनी दुःख व्यक्त गर्नुभयो । सुनसरीको कप्तानगञ्जमा भएको घटनाका विषयमा राज्य संवेदनशील नभएको आरोप लगाउनुभयो ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले सुनसरीको घटना समाधान गर्न र सद्भाव कायम गर्ने सम्बन्धमा सबै दलले स्पष्ट रुपमा बोल्नुपर्ने बताउनुभयो ।

सो घटनाको दिगो समाधान राजनीतिक रुपमा खोज्नुपर्ने बताउँदै उहाँले सरकारका तर्फबाट थप पहलको आवश्यकता आँैल्याउनुभयो । सांसद ओलीले समाजिक सद्भाव कायम गर्न सबै पक्षलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।
 
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले दुई महिनाअघि सिमानाका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका विषय स्पष्ट नभएकोे र संसद्को अभिलेखबाट सो कुरा नहटेको बताउनुभयो । 

उहाँले सुनसरीलगायत क्षेत्रमा देखिएको घटना र अशान्तिको विषय समाधानका लागि सरकारले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै समाधानका लागि सरकारले नै पहलकदमी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस्ता समस्याको समाधान गर्न बल प्रयोग गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan