तेह्रौँ संस्करणको ‘इएमएफ ग्लोबल कन्भेन्सन एण्ड अवार्ड’ सुरु
काठमाडौँ, १४ साउनः भारतीय कम्पनी दि इभेन्ट म्यानेजमेन्ट फेडरेसन (इएमएफ ग्लोबल) को आयोजनामा काठमाडौँमा आजदेखि १३औँ संस्करणको ‘इएमएफ एस ग्लोबल कन्भेन्सन एण्ड अवार्ड’ सुरु भएको छ । आजदेखि सुरु भएको कन्भेन्सन (सम्मेलन) शनिबारसम्म सञ्चालन हुनेछ ।
इएमएफ ग्लोबलका अध्यक्ष जयदीप मेहताले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कन्भेन्सन तथा अवार्ड समारोहमा विभिन्न सात राष्ट्रका ५५० भन्दाबढी सहभागी हुने जानकारी दिनुभयो । “यो केबल सम्मेलन वा अवार्ड वितरण कार्यक्रम मात्र होइन, गन्तव्यमा आधारित आर्थिक विकासको महत्वपूर्ण उत्प्रेरक पनि हो”, उहाँले भन्नुभयो, “जहाँजहाँ यो सम्मेलन आयोजना गरिएको छ, त्यहाँको विवाह तथा इभेन्ट उद्योगले उल्लेखनीय आर्थिक लाभ हासिल गरेका छन् ।”
अध्यक्ष मेहताले ‘लक्जरी’ होटल, विवाहस्थल, ‘डेस्टिनेसन म्यानेजमेन्ट’ कम्पनी, ‘प्रोडक्सन हाउस’, कलाकार, यातायात सेवा प्रदायक, पर्यटन व्यवसायी, सजावट विशेषज्ञ, स्थानीय आपूर्तिकर्ता तथा आतिथ्य क्षेत्रका साझेदारहरूले सयौँ सभा (इभेन्ट) उद्योगका निर्णयकर्ताको उपस्थितिबाट प्रत्यक्ष फाइदा उठाउन सकिने बताउनुभयो ।
नेपालमा प्राकृतिक सौन्दर्यता, विवाह समारोहलगायत गन्तव्य बनाउनका लागि उपयुक्त स्थल रहेको उहाँले दाबी गर्नुभयो । आयोजकका अनुसार १३औँ संस्करणको कन्भेसन तथा अवार्ड समारोहमा बलिउडका कलाकार विक्रान्त म्यासी, बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी, प्रख्यात अभिनेत्री मनीषा कोइराला तथा वरिष्ठ कलाकार शक्ति कपुरको विशेष उपस्थिति रहने जानकारी दिइएको छ ।
यस कार्यक्रममा ‘इभेन्ट’ उद्यमी, ‘डेस्टिनेसन’ विशेषज्ञ, आतिथ्य(हस्पिटालिटी) क्षेत्रका अगुवा, पर्यटन क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधि, सिर्जनात्मक पेसाकर्मी तथा उद्यमीको सहभागिता रहने आयोजकले जनाएको छ ।
