मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट
काठमाडौँ, १४ साउनः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का नेपालका लागि राष्ट्रिय निर्देशक रियाज लोधीले भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच सन् १९६३ देखि नेपालको खाद्य सुरक्षा, पोषण, कृषि विकास र वातावरण संरक्षणमा डब्लुएफपीले पुर्याउँदै आएको निरन्तर सहयोग र लामो साझेदारीका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री चौधरीले साझा प्राथमिकतालाई ठोस र परिणाममुखी पहलमार्फत संवादबाट कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले डब्लुएफपीको रणनीतिक योजना नेपालका कृषि प्राथमिकताहरु र दिगो विकास लक्ष्य तथा जलवायु कार्यप्रतिको राष्ट्रिय प्रतिबद्धतासँग मेल खाने भन्दै प्रशंसा गर्नुभयो ।
मन्त्री चौधरीले नेपाल सरकारले हालै ७७ वटै जिल्लाका करिब ३० लाख बालबालिकालाई समेट्ने गरी ‘दिवा खाजा कार्यक्रम’लाई राष्ट्रियकरण गर्दै स्थानीय कृषि उत्पादनमा आधारित ‘होम–ग्रोन स्कुल फिडिङ’ लागू गरेको जानकारी दिनुभयो । यस पहलले साना किसान र महिला उत्पादकहरूलाई सिधैँ स्थानीय विद्यालयको बजारसँग जोड्न सफल भएको बताउँदै यो उपलब्धि हासिल गर्न डब्लुएफपीले प्रदान गरेको प्राविधिक सहयोगको उहाँले प्रशंसा गर्नुभयो ।
साथै मन्त्री चौधरीले नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षा, जलवायु-उत्थानशील र दिगो कृषि, मूल्य शृङ्खला र बजार पहुँचको सुदृढीकरण, बाली भित्र्याइसकेपछिको क्षति न्यूनीकरण र कृषिमा युवा तथा महिलाको संलग्नता प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको समेत जानकारी गराउनुभएको थियो ।
