आरआर क्याम्पसमा विद्यार्थीका लागि अतिथि कक्षा
काठमाडौँ, १६ असोजः प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत् विद्यार्थीका लागि अतिथि कक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा भएको उक्त कार्यक्रममा पत्रकार विजय पौडेलले विद्यार्थीसँग आफ्नो पत्रकारिता यात्रा, आमसञ्चार क्षेत्रका चुनौती र व्यावहारिक अनुभवका राख्नुभयो ।
पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा जगत नेपाल तथा विषय शिक्षक शान्तराम बिडारीले पत्रकारिताका सिद्धान्त, वर्तमान अवस्था र आमसञ्चारका विविध पक्षबारे आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीले सञ्चार क्षेत्र र व्यावहारिक अभ्याससम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । विद्यार्थीका प्रश्नको उत्तर दिँदै पत्रकार पौडेल तथा शिक्षकले सैद्धान्तिक ज्ञानका साथै कार्यक्षेत्रमा आइपर्ने व्यावहारिक पक्ष र दक्षताको महत्त्वबारे स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीले यस्ता अतिथि कक्षाले आफ्नो अध्ययनलाई अझ व्यावहारिक र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
