जितीया व्रत गर्दै मिथिलानी
महोत्तरी, १७ असोजः सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज जितीया पर्वको निराहार व्रत बसिरहेका छन् । पितृपक्ष अर्थात् असोज कृष्णपक्षको अष्टमी तिथिमा गरिने यो व्रत आज बिहान ९ः५४ बजेदेखि सुरु भई रातभरि अष्टमी तिथि रहने भएकाले आज राति पनि महिलाले व्रत गर्दछन् । आइतबार बिहान ७ः२९ बजेपछि लाग्ने नवमी तिथिको एकघडी कटाएर बर्तालुले व्रत समापन गर्दछन् ।
तिथिको भोगअनुसार आज बिहान ९ः५४ बजेपछि अष्टमी सुरु भए पनि एक अहोरात्रको व्रत हुनुपर्ने पर्वको विधान रहेको जलेश्वर नगरपालिका-७ का ८५ वर्षीय मैथिल संस्कृतिका ज्ञाता एवं संस्कृतिविद् महेश्वर रायले बताउनुभयो । उहाँका अनुसार बर्तालुले आज बिहान सूर्योदय हुन एकघडीपूर्व ‘ओगटन’ खाएर निराहार उपवास थालेका छन् ।
यस पर्वमा तीजको दर खाएजस्तै दही-चिउरा, सख्खर र केरासहितका फलफूल खाने चलन छ । यसलाई मैथिल जनबोलीमा ‘ओगटन’ भनिन्छ । अब बर्तालुले आइतबार नवमी तिथि एकघडी कटाएर व्रत समापन गर्ने संस्कृतिविद् रायले जानकारी दिनुभयो ।
मिथिला क्षेत्रमा सन्तानको कल्याणको कामनाका साथ आमाहरूले मनाउने यो पर्वको व्रत कठोर मानिन्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरिएसम्म थुक निल्न, अञ्जानमा पनि किरा, फट्याङ्ग्रा र झारपात मार्न, चुँडिन नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिएको संस्कृतिविद् रायले तर्क दिनुभयो ।
बर्दिबास नगरपालिका-२ ओमशान्तिचोककी पर्मिला ठाकुरका अनुसार पर्वमा आमाहरू आफ्ना सन्तानको खुसी र मङ्गलको कामनाका लागि देवदूत जितवाहनको सम्झना गर्छन् र कथा भन्ने, सुन्ने गर्छन् । केही दशक पहिलेसम्म छोराका लागि भनेर गरिने यो पर्व अब भने सन्तानका लागि भन्न थालिएको उहाँले बताउनुभयो ।
निरन्तरको लैङ्गिक विभेदविरुद्धको सङ्घर्ष र सचेतना अभियानले अब छोरी मात्र सन्तान हुनेले पनि जितीया पर्व गर्न थालेका छन् । सन्तानको सौर्य, पराक्रम वृद्धिसँगै आफ्ना छोराछोरी उपकारी र सविनयी हुन् भन्ने कामना पर्वको मुख्य अभिष्ट रहँदै आएको संस्कृतिविद् रायले बताउनुभयो ।
मिथिलामा हिन्दू परम्पराका रैथाने सबै जातजातिले यो पर्व मनाए पनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी हुने गर्दछ । थारू महिला जितीया पर्वकै लागि विभिन्न रङको माटोले घर लिपपोत गर्ने र रङ्गाउने गर्छन् । जितीया पर्वलाई ‘बड्भारी’ (ठूलो) भनिने मैथिल जनबोलीमा छ । सन्तानको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी हुने गरेको संस्कृतिविद्हरू बताउँछन् ।
मिथिलामा यो पर्व सबै आमाले निष्ठापूर्वक मनाउँछन् । आमाले गर्ने यो व्रतको प्रभावले सामाजिक इज्जत, प्रतिष्ठा र पराक्रम प्राप्त हुने जनविश्वास रहिआएको संस्कृतिविद् रायले बताउनुभयो । आमाले जितीया नगरेका सन्तान लिखुरे, डरछेरुवा र स्वार्थी हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
सन्तानको कल्याण र सौर्य वृद्धिको कामना पूरा गराउन मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण दिने गर्छन् । व्रतमा पुरुषहरूले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरूले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको बर्दिबास-२ की नगिना महतोले बताउनुभयो । उहाँका अनुसार पर्वमा निराहार उपवासको एक दिनअघि सप्तमी तिथिमा एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गर्ने पर्व विधान छ ।
बर्तालुले दिवङ्गत सासू, जेठानी, बुढीसासू, नन्दआमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडश मातृका श्राद्ध’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरूको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजीवी बन्ने आशीर्वाद देऊ’ भन्ने याचना गरिन्छ ।
यस अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना सन्तान उनीजस्तै परोपकारी र साहसी होऊन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरूप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको जलेश्वर-४ सुगाभवानीपट्टीका ८५ वर्षीय कृष्णचन्द्र झाले बताउनुभयो ।
राजा जितवाहन र जितीया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा सुरु भएको हुन सक्ने महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस विद्यापीठका प्राचार्य हेमनारायण कर्णले बताउनुभयो ।
