Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार | (रासस)

मुस्ताङ, १८ असोजः नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली  कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आई पुग्नुभएको छ ।

(नेपाल—चीन) कोरलानाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाकाबाट उपल्लो मुस्ताङको लोमान्थाङ आइपुग्नु भएको हो ।

यससम्बन्धी जानकारी दिँदै मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाका हुँदै मुस्ताङ आउनुभएको जानकारी दिनुभयो ।

“चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” सिडियो शर्माले भन्नुभयो, “चिनियाँ राजदूतको सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, उहाँ आज दिउँसो  कोरलानाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ ।”

यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नेपालका लागि चिनियाँ राजदूत तीनदिने मुस्ताङ भ्रमणका लागि लोमान्थाङ आउनुभएको जानकारी दिनुभयो ।

 चीनियाँ राजदूतसहित पाँच जना चिनियाँ टोली र दुई जना नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी रहेको जानकारी दिनुभयो । कोरलानाका हुँदै मुस्ताङ आउनुभएको उक्त टोली सदस्यहरु लोमान्थाङस्थित होटल मण्डलामा बस्नुभएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । उक्त टोली लोमान्थाङबाट जोमसोम आउने कार्यतालिका रहेको छ ।

चिनियाँ राजदूत चाङ माओमिङ आज बिहान लोमान्थाङबाट जोमसोम आउने जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीन समकक्षीबीच  कोरलानाकासम्बन्धी बैठक बस्ने जनाइएको छ ।

कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम आइसकेपछि बैठक सकेर चिनियाँ राजदुत आज पुनः लोमान्थाङ फर्किने कार्यतालिका रहेको छ । भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरलानाका हुँदै चीन फर्किने योजना छ ।

नेपाल—चीन उत्तरी कोरलानाकाबाट चिनियाँ राजदूतको उच्चस्तरीय भ्रमण यो नै पहिलो भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । कोरलानाकालाई पूर्ण रुपमा खोल्न र कोरलानाकाको समग्र वस्तुस्थितिको अनुगमनका लागि चिनियाँ राजदूत मुस्ताङ आउनुभएको उहाँको भनाइ छ । 

गत भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी—केरुङ नाका पूर्ण रुपमा बन्द छ । यस्तै, उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रुपमा बन्द अवस्थामा छ । यस्तोमा नेपालका लागि—चिनियाँ राजदूतसहितको मुस्ताङ भ्रमणबारे मुस्ताङका जानकारहरुले अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।

गत भदौ १० यता नेपाल—चीन उत्तरी कोरलानाका वैकल्पिक नाकाका रुपमा उभिएको छ । रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्नमा योगदान गरेको छ ।

कोरलानाकालाई पूर्ण रुपमा सञ्चालन तथा अन्तरराष्ट्रिय नाकाका रुपमा व्यवस्थापन गर्ने, नाकामा देखिएका समस्या र चुनौतीको समाधान खोज्ने, कोरलानाकामा नेपाल पक्षको पूर्वाधारहरुको अवलोकन गर्ने र कोरलानाका जोड्ने सडकको अनुगमनका लागि चिनियाँ राजदूतको मुस्ताङ भ्रमण फलदायी हुने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan