महाधिवेशन प्रतिनिधि छनोटमा ‘बाहिरी व्यक्ति’को नाम परेको दाबी, कांग्रेस सभापतिसमक्ष उजुरी
महाधिवेशन प्रतिनिधि छनोटमा ‘बाहिरी व्यक्ति’को नाम परेको दाबी
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अघि बढिरहेका बेला नेपाल लोकतान्त्रिक शेर्पा संघको सिफारिशमा ‘बाहिरी व्यक्तिको नाम समावेश गरिएको’ भन्दै पार्टी सभापतिसमक्ष उजुरी परेको छ।
नेपाल लोकतान्त्रिक शेर्पा संघका केन्द्रीय सचिव संजय शेर्पाले कांग्रेस पार्टी कार्यालय सानेपामा निवेदन दर्ता गराउँदै संघको सिफारिशमा समावेश भएका दुई जनाको नाम संघको साधारण सदस्यसमेत नरहेको बाहिरी व्यक्तिको भएको दाबी गरेका छन्।
शेर्पाले पार्टी सभापतिलाई सम्बोधन गर्दै दिएको निवेदनमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमार्फत नेपाल लोकतान्त्रिक शेर्पा संघलाई महाधिवेशन प्रतिनिधिका लागि २ जना पुरुष र १ जना महिलाको नामावली पठाउन पत्राचार गरिएको उल्लेख गरेका छन्।
तर संघका अध्यक्ष तथा कार्यवाहक अध्यक्षको हस्ताक्षरसहित २०८३ असोज १८ गते पठाइएको पत्रमा निर्धारित संख्याभन्दा बढी अर्थात् पाँच जनाको नाम महाधिवेशन प्रतिनिधिका लागि सिफारिश गरिएको निवेदकको भनाइ छ।
उक्त पाँच नाममध्ये पत्रको १ नम्बरमा आङ पासाङ शेर्पा–दोलखा र ५ नम्बरमा नुर्बु शेर्पा–दोलखाको नाम समावेश गरिएको र उनीहरू नेपाल लोकतान्त्रिक शेर्पा संघको साधारण सदस्यसमेत नरहेको दाबी निवेदनमा गरिएको छ।
निवेदक शेर्पाका अनुसार संघको सदस्य नै नरहेको व्यक्तिलाई महाधिवेशन प्रतिनिधिका रूपमा सिफारिश गरिँदा संघभित्रबाट विधिवत् रूपमा सिफारिश भएका अन्य प्रतिनिधिको अधिकार प्रभावित हुने अवस्था सिर्जना भएको छ।
उनले पार्टी सभापतिसमक्ष उक्त दुई नाम हटाई सिफारिश सूचीको २ देखि ४ नम्बरमा रहेका व्यक्तिहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्न माग गरेका छन्।
निवेदनमा भनिएको छ, ‘बाहिरी व्यक्ति’को नाम समावेश गरिएको निर्णयले नेपाल लोकतान्त्रिक शेर्पा संघका अन्य सिफारिश प्रतिनिधिको हक–अधिकारमा प्रतिकूल असर पर्ने भएकाले विवादित नाम हटाएर बाँकी सिफारिश प्रतिनिधिबाट प्रतिनिधि चयन गरिनुपर्ने माग गरिएको हो।
कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्था, जातीय–सामुदायिक संगठन र पार्टी संरचनाबाट प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेका बेला शेर्पा संघभित्रको यो विवाद सार्वजनिक भएको हो।
महाधिवेशन प्रतिनिधि चयन पार्टीको आन्तरिक लोकतन्त्र र संगठनात्मक वैधानिकतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले एउटा संगठनबाट कसलाई प्रतिनिधिका रूपमा सिफारिश गरियो भन्ने प्रश्नले राजनीतिक अर्थसमेत राख्ने देखिन्छ।
विशेषगरी सम्बन्धित संगठनको सदस्यता नै नभएको व्यक्तिलाई प्रतिनिधिका रूपमा सिफारिश गरिएको हो भने त्यसको वैधानिक आधार के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ।
अर्कोतर्फ, सम्बन्धित व्यक्तिहरू संगठनको सदस्य नभएको दाबीसमेत प्रमाणित हुनुपर्ने भएकाले कांग्रेस नेतृत्वले दुवै पक्षका कागजात र आधिकारिक अभिलेख अध्ययन गरेर निर्णय गर्नुपर्ने देखिन्छ।
निवेदकले आफू नेपाल लोकतान्त्रिक शेर्पा संघको केन्द्रीय सचिवका रूपमा कार्यरत रहेको उल्लेख गर्दै संघबाट गरिएको सिफारिशको प्रक्रिया र निर्णयमाथि प्रश्न उठाएका हुन्।
अब कांग्रेस नेतृत्वसामु मुख्य प्रश्न सिफारिशको आधिकारिकता, सम्बन्धित व्यक्तिको संगठनात्मक सदस्यता र निर्धारित कोटाअनुसार प्रतिनिधि छनोटको प्रक्रियाबारे छ।
महाधिवेशनको प्रतिनिधि चयन नै विवादित बनेपछि कांग्रेसभित्र ‘कसको नाम सिफारिश भयो’ भन्दा पनि कुन आधारमा नाम सिफारिश गरियो र संगठनको निर्णय प्रक्रिया कति पारदर्शी थियो ? भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।
शेर्पाले आफ्नो निवेदनमार्फत विवादित दुई नाम हटाएर बाँकी सिफारिश प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि चयन गरी न्याय र इन्साफ गर्न पार्टी सभापतिसमक्ष माग गरेका छन्।
अब कांग्रेस नेतृत्वले उक्त उजुरीमाथि छानबिन गरी संघको आधिकारिक सदस्यता अभिलेख, सिफारिश पत्र तथा सम्बन्धित संगठनका निर्णय हेरेर निर्णय गर्ने अपेक्षा गरिएको छ।
.jpg)
.jpg)
