Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘टाइगर सेन्चुरी’ स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

काठमाडौँ, २० असोज  :  बाघको सङ्ख्या वृद्धिसँगै बढ्दै गएपछि समस्याग्रस्त बाघको  दीर्घकालीन समस्या समाधान गरी मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न सरकारले ‘टाइगर सेन्चुरी’ स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

सरकारको प्राथमिकता प्राप्त उक्त नीति तथा योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र अमेरिकास्थित संस्था ‘द वाइल्ड एनिमल सेन्चुरी’ (टीडब्ल्यूएएस) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार नेपालमा कम्तीमा ५० हेक्टर क्षेत्रफलमा खुला तथा प्राकृतिक वातावरणमैत्री आधुनिक बाघ सेन्चुरी निर्माण गरिनेछ । समझदारीपत्रमा कोषका सदस्य–सचिव डा चिरञ्जीवीप्रसाद पोखरेल र टीडब्ल्यूएएसका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ ।

नेपालमा बाघको सङ्ख्या दोब्बरभन्दा बढी पुगेपछि मानव बस्तीमा प्रवेश गरी मानवीय क्षति निम्त्याउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

मानव बस्तीमा प्रवेश गरी मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइ खोरमा राखिँदै आएको छ । त्यस्ता समस्याग्रस्त बाघको दीर्घकालीन स्याहार, आधुनिक आवास तथा वैज्ञानिक व्यवस्थापनका लागि छुट्टै ‘सेन्चुरी’ आवश्यक भएपछि अन्तरराष्ट्रिय संस्थासँग साझेदारी अघि बढाइएको कोषले जनाएको छ ।
 
टिडब्ल्यूएएसले ४६ वर्षभन्दा लामो आफ्नो अनुभव र विज्ञताको प्रयोग गर्दै सेन्चुरीका लागि आवश्यक भौतिक पूर्वाधार, प्राकृतिक वासस्थानको डिजाइन, पशु चिकित्सालय तथा घेराबार निर्माणका लागि आर्थिक तथा प्राविधिक स्रोत जुटाउनेछ । सेन्चुरी निर्माणका लागि प्रयोग हुने जग्गाको स्वामित्व भने नेपाल सरकार वा एनटीएनसीकै रहनेछ ।

सेन्चुरीलाई समस्याग्रस्त बाघको आजीवन सुरक्षित बासस्थानका रूपमा मात्र नभई जनचेतना तथा संरक्षण शिक्षाको केन्द्रका रूपमा समेत विकास गरिने समझदारीमा उल्लेख छ ।

सेन्चुरीभित्र बाघलाई व्यावसायिक मनोरञ्जन, फोटो सेसन, खेल वा प्रजनन प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । परियोजनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै दुर्लभ पाटेबाघको संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan