खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ
भक्तपुर, २३ असोज : खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर हात्तीबन बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २३ वर्षीय सुभम कुमार, बारा सिम्रौनगढ नगरपालिका-१० घर भएका २० वर्षीय अनिकेत यादव, ललितपुर धापाखेल बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २२ वर्षीय पबन कुमार चौधरी र रौतहट गौर नगरपालिका-१ घर भएका २१ वर्षीय रिसी गंगा रहेका छन् ।
विभिन्न मोबाइल नम्बरहरूबाट खल्तीको आधिकारिक कर्मचारी हुँ भनि पिडितहरूसँग फोन सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने र OTP कोड सेयर गर्न लगाई पीडितहरूको बैंक तथा वालेट खाताहरूमा अनुमति बिना अनाधिकृत रूपमा पहुँच पुर्या ई विभिन्न खातामा रकम ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२८ हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टको टिई/१३०५ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
