रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं, २३ असोज । असोज २० गतेबाट श्री मध्य पूर्वी पृतना हे.क्वा., बर्दिबासमा सञ्चालन भएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज २३ गते समापन भएको छ।
समापन समारोहमा पृतनापति उपरथी भुवन खत्रीले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने २१ (एक्काइस) जना सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।
सोही अवसरमा विगत लामो समयदेखि श्री मध्य पूर्वी पृतना हे.क्वा. अन्तर्गतका जिल्लाहरूमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने ९ वटा एफ.एम. रेडियो स्टेशनहरूलाई जनसम्पर्क तथा सूचना निर्देशकले सम्मान स्वरूप कदर पत्र प्रदान गर्नु भएको थियो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवम् समसामयिक विषयहरूमा अन्तरक्रिया समेत गराइएको थियो।
यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवम् स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ।
