केन्यामा सभामुख अर्याललाई एनआरएनएद्वारा स्वागत, अफ्रिकामा थप नेपाली दूतावास खोल्न माग
नैरोबी, केन्या | ११ अक्टोबर २०२६
केन्याको भ्रमणमा रहनुभएका प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहित संघीय संसद्का उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् केन्याले स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
एनआरएनए केन्याका अध्यक्ष भरत रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अफ्रिकामा बसोबास तथा कार्यरत नेपालीहरूका समस्या, वैदेशिक रोजगारी, व्यापार–व्यवसाय, नेपालमा लगानी, पर्यटन प्रवर्द्धन तथा नेपाल–अफ्रिका सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो।
कार्यक्रममा एनआरएनएका पूर्व केन्द्रीय सदस्य यादव काफ्लेले अफ्रिकाका विभिन्न मुलुकमा रहेका नेपालीहरूले भोगिरहेका साझा समस्या तथा चुनौतीबारे प्रकाश पार्नुभयो।
निवर्तमान अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्टले नेपाल र अफ्रिकाबीच व्यापार, पर्यटन तथा आर्थिक सहकार्य विस्तारका लागि नेपाल सरकारको पहल आवश्यक रहेको बताउनुभयो।
एनआरएनए केन्याका निवर्तमान अध्यक्ष शिव अधिकारीले अफ्रिकामा रोजगारी तथा व्यवसायका अवसर रहे पनि कतिपय नेपाली दलालहरूको प्रलोभनमा परी विदेशमा अलपत्र पर्ने गरेको उल्लेख गर्नुभयो। त्यस्ता समस्यामा परेका नेपालीलाई नेपाली राजदूतावास तथा नैरोबीस्थित अवैतनिक वाणिज्यदूतको सहयोगमा उद्धार तथा सहायता उपलब्ध गराइएको अनुभव उहाँले सुनाउनुभयो।
संघका संस्थापक अध्यक्ष कुलबहादुर कार्कीले नेपालमा लगानी गर्न इच्छुक गैरआवासीय नेपालीहरूलाई कम्पनी स्थापना तथा व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी र प्रशासनिक जटिलता हटाउन आग्रह गर्नुभयो। विदेशमा कार्यरत नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र अनुभव नेपालको विकासमा उपयोग गर्न दक्ष जनशक्तिलाई स्वदेशमै उचित अवसर दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
नैरोबीस्थित नेपालका अवैतनिक वाणिज्यदूत डा. जिम्मी अस्करले नेपाली समुदायलाई आवश्यक परेको समयमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा गंगा बस्याल रेग्मीले मातृभूमिप्रतिको प्रेम र भावनालाई समेटिएको कविता प्रस्तुत गर्नुभएको थियो।
अफ्रिकामा थप नेपाली दूतावास खोल्न माग
कार्यक्रममा उठेका विषयमा प्रतिक्रिया दिँदै सभामुख अर्यालले एनआरएनए केन्याले प्रस्तुत गरेका मागहरूमध्ये सरकारले सम्बोधन गर्न सक्ने विषयमा आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो। उहाँले विदेशमा रहेका नेपाली समुदायका समस्या र चासोलाई सम्बन्धित सरकारी निकायसम्म पुर्याउन सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रेग्मीले दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास बन्द गर्ने नेपाल सरकारको निर्णयप्रति अफ्रिकामा रहेका नेपाली समुदायको असहमति रहेको बताउनुभयो। उहाँले उक्त निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गर्दै अफ्रिकामा रहेका नेपालीहरूको हित, सुरक्षा र समस्याको प्रभावकारी सम्बोधनका लागि पूर्वी तथा पश्चिमी अफ्रिकामा थप नेपाली दूतावास स्थापना गर्न माग गर्नुभयो।
अध्यक्ष रेग्मीले विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानीको वातावरण निर्माण तथा नेपाल र अफ्रिकाबीच आर्थिक एवं सामाजिक सहकार्य विस्तार गर्न सरकार र सम्बन्धित सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमले नेपालबाट गएको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डल र अफ्रिकामा रहेका नेपाली समुदायबीच प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, चासो र सम्भावित समाधानका उपायबारे छलफल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
