नेपाल र सर्बियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमति
काठमाडौँ, ९ असोजः नेपाल र सर्बियाबीच द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र सर्बियाका परराष्ट्रमन्त्री मार्को डुरिचले उक्त द्विपक्षीय परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
द्विपक्षीय परामर्श संयन्त्रले नेपाल र सर्बियाबीच आपसी हित तथा चासोका विषयमा नियमित छलफल र परामर्शका लागि संस्थागत आधार प्रदान गर्ने मन्त्री खनालको सचिवालयले जनाएको छ ।
संयन्त्रमार्फत दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै सहयोगका नयाँ क्षेत्र पहिचान तथा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल र रुवान्डाबीच जेनेरल कोअपरेसन अग्रिमेटझमा हस्ताक्षर
नेपाल र रुवान्डाबीच आज जेनेरल कोअपरेसन अग्रिमेटझमा हस्ताक्षर भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र रुवान्डाका परराष्ट्र तथा अन्तरराष्ट्रिय सहयोगमन्त्री ओलिभियर जाँ प्याट्रिक न्दुहुन्गिरेहेले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताले नेपाल र रुवान्डाबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गर्ने मन्त्री खनालको सचिवालयले जनाएको छ ।
नेपाल र रुवान्डाबीच सन् २०१८ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो र दुवै मुलुक संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन् ।
सम्झौतामा हस्ताक्षरसँगै नेपाल–रुवान्डा सम्बन्धलाई थप संस्थागत गर्दै आपसी सहयोगका नयाँ क्षेत्र पहिचान र विस्तार गर्ने अवसर सिर्जना भएको छ ।
