Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गन्यापधुराद्वारा आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | (रासस)

डडेल्धुरा, २५ असोज : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ । रु छ करोड ५३ लाखभन्दा बढी लागतमा निर्माण भएको तीन सभाहल र ३६ कोठासहितको आधुनिक भवनको आज गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाको वडा नम्बर २ गणेशपुरमा निर्माण गरिएको भवनको रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर उद्घाटन गरिएको हो । वडा नम्बर २ का अध्यक्ष मनोज देउवाका अनुसार यसअघि भाडाको घरबाट प्रशासनिक सेवा दिँदै आएको गाउँपालिकाले गत वर्षदेखि कृषि तथा पशु सेवाको एकीकृत भवनबाट सेवा सञ्चालन गर्दै आएको थियो । आफ्नै प्रशासकीय भवन निर्माण भएसँगै सेवाग्राहीलाई सहज हुने र प्रशासनिक कामकाज थप व्यवस्थित हुने गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, सिँचाइ, खानेपानी तथा कृषि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पाँच वटा वडा रहेको गाउँपालिकाका चार वटा वडामा आफ्नै वडा कार्यालय भवन निर्माण भइसकेका छन् । गाउँपालिकामा एमबिबिएस चिकित्सकसहितको १० शय्याको आधारभूत अस्पताल र दुई वटा शीतभण्डारसमेत सञ्चालनमा रहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार प्रशासकीय भवन निर्माणका लागि २०७८ पुस २२ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८१ पुस २० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सङ्घीय सरकारबाट साझेदारीबापतको बजेट समयमै प्राप्त नहुँदा निर्माण कार्य करिब दुई वर्ष ढिलो भएको उहाँले बताउनुभयो ।

भवन निर्माणका लागि रु छ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाको नाममा रहेको ११ रोपनी जग्गामध्ये आठ रोपनी क्षेत्रफलमा प्रशासकीय भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan