नगरकोटमा चारदिने ‘चङ्गा चेट’, कार्यक्रम
काठमाडौँ, २५ असोजः दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि–दसैँ उत्सव आयोजना हुने भएको छ । केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो ।
नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि दसैँका अवसरमा चङ्गा उडाउने तथा सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । यही परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने र नेपाली संस्कृति, पारिवारिक जमघट तथा सामूहिक उत्सवलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा विदेशी पर्यटकका लागिसमेत विशेष आकर्षण रहनेछ ।
चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक तथा नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्टाण्ड अप कमेडीलगायत मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ । सहभागीहरूले दसैँ विशेष खानपानका साथै हिटेड स्वीमिङ पुल र ज्याकुजीको सुविधा पनि लिन सक्नेछन् । काठमाडौँ उपत्यकाबाट नगरकोट आउने सहभागीका लागि अतिरिक्त शुल्कमा यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
नगरकोटका पर्यटन व्यवसायी तथा माउन्टेन भिस्टा रिट्रिटका सञ्चालक अर्जुनसिंह ठकुरीले ‘चङ्गा चेट’ कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने अवसरका रूपमा लिइएको बताउनुभयो । “नगरकोटमा दुई दशकदेखि चङ्गा चेट हुँदै आएको हो । बीचमा रोकिएको थियो, तर यस वर्षदेखि पुनः ‘यसपालिको दसैँ...आकाशमा चङ्गा, मनमा उमङ्ग !’ भन्ने नारासहित आयोजना गर्न लागेका छौँ”, ठकुरीले भन्नुभयो ।
