अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु
काठमाडौँ, २७ असोजः अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउँदै लोकतान्त्रिक प्रक्रिया र नीति निर्माणमा उनीहरूको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले रु नौ करोड ५० लाख को ‘समावेश’ परियोजना सुरु भएको छ ।
युरोपेली सङ्घको आर्थिक सहयोगमा सिबीएम ग्लोबलको नेतृत्वमा सञ्चालन हुने तीन वर्षे ‘आवाज, समानता, ऐक्यबद्धता र सद्भाव प्रवद्र्धनका लागि सक्रिय उपाय’ (समावेश) परियोजनाको आज यहाँ आयोजित कार्यक्रममा शुभारम्भ गरिएको हो ।
परियोजना बागमती र कर्णाली प्रदेशका काठमाडौँ र भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका तथा वीरेन्द्रनगर र चन्दननाथ नगरपालिकामा परियोजना सञ्चालन हुनेछ ।
परियोजनाअन्तर्गत अपाङ्गता भएका व्यक्तिको राजनीतिक तथा निर्वाचनसम्बन्धी अधिकारको अवस्था अध्ययन, निर्वाचन प्रक्रियाको समावेशिता र पहुँचयोग्यताको अनुगमन, नीतिगत पैरवी, कानुनी वकालत तथा नागरिक समाजको क्षमता अभिवृद्धिका गरिने छ ।
परियोजनाको औपचारिक प्रारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न तथा सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले अपाङ्गताप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको क्षमता र सशक्ततालाई सम्मान गर्दै उनीहरूप्रतिको सामाजिक सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद गङ्गा छन्त्यालले अपाङ्गता भएका व्यक्तिका आवाज संसद्मा प्रभावकारी रूपमा उठाउन आपसी समझदारी र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका आफूजस्ता अपाङ्गता भएका व्यक्ति एकजुट भएर समुदायका सवाल उठाउनुपर्ने उहाँको भनाइ थियो ।
सांसद यशोदा बरालले अपाङ्गता भएका सांसदले समेत विभेदको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूलाई आर्थिक तथा राजनीतिक रूपमा सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले समावेशी कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

