रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने
वासिङ्टन, २८ असोज : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म भारत र उज्बेकिस्तानको भ्रमण गर्नुहुने भएको छ ।
भारतमा उहाँले मुम्बई र जामनगरको भ्रमण गरी ऊर्जा, व्यापार, लगानी र रणनीतिक सहकार्यबारे छलफल गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भारत आउनुअघि रुबियोले उज्बेकिस्तानमा हुने ‘सी–५ प्लस वान’ मन्त्रिस्तरीय बैठकमा सहभागी भई मध्यएसियाका पाँच देशका अधिकारीहरूसँग वार्ता गर्नुहुनेछ । उहाँसँगै २०० भन्दा बढी अमेरिकी व्यावसायिक प्रतिनिधि पनि सहभागी हुनेछन् ।
यसैबीच, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले रक्षा, सूचना प्रविधि र स्वास्थ्य सेवामा दुई देशबीच सहकार्य विस्तार भइरहेको बताउनुभएको छ ।
उहाँका अनुसार हालैको सैन्य अभ्यासमा ५०० भन्दा बढी सैनिक सहभागी भएका थिए भने राजस्थानमा पहिलोपटक अमेरिकी एफ–३५ लडाकू विमान सहभागी भएको थियो ।
गोरले भारतबाट अमेरिकाले ठूलो परिमाणमा जेनेरिक औषधि आयात गरिरहेको र दुवै देशका कम्पनीले एकअर्काको बजारमा लगानी विस्तार गरिरहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत साता भएको कुराकानीले द्विपक्षीय सहकार्यका थप अवसर खुल्ने अपेक्षा व्यक्त गर्नुभयो ।
रुबियोको यो वर्षको दोस्रो आधिकारिक भारत भ्रमण हुनेछ । यसअघि उहाँले मे २३ देखि २६ सम्म भारत भ्रमण गर्नुभएको थियो ।

