Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौंका विभिन्न पश्मिना उद्योगबाट १० बंगलादेशी नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

अवैध रूपमा नेपाल प्रवेश गरी काम गरिरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीको कारबाही
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले काठमाडौंका विभिन्न पश्मिना उद्योग तथा कारखानामा काम गरिरहेका १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा नेपाल प्रवेश गरी विभिन्न उद्योगमा काम गरिरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपालको नम्बर १८ गण हेडक्वार्टर (विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा) बाघभैरव, काठमाडौंका प्रहरी निरीक्षक गणेश न्यौपानेको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र कार्कीले जानकारी दिए।

प्राप्त सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरीको टोलीले काठमाडौंका विभिन्न पाँचवटा पश्मिना उद्योगमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू ईन्द्र श्रेष्ठको रुबी पश्मिना कम्पनी, मुके शेर्पाको लिस्टिमाई पश्मिना उद्योग, राजु महतको आरपी पश्मिना उद्योग, ईबकुमारी तिरुवाको सिद्धार्थ सिवानी पश्मिना उद्योग र श्यामप्रसाद बजगाईँको गोल्डेन पश्मिना ह्यान्डिक्राफ्टबाट पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय मोहम्मद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल कादर, ३७ वर्षीय मोहम्मद आलम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान रहेका छन्।

पक्राउ परेका सबै बंगलादेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागमा पठाइएको प्रवक्ता कार्कीले बताए।
नेपालमा विदेशी नागरिकको प्रवेश, बसाइ र रोजगारीसम्बन्धी कानुनी व्यवस्थाको पालना भए–नभएको विषयमा यस घटनाले पुनः ध्यानाकर्षण गराएको छ। विदेशी नागरिकले नेपालमा बसोबास तथा काम गर्दा प्रचलित कानुन र आवश्यक अनुमति पालना गर्नुपर्ने व्यवस्था छ।

यद्यपि, पक्राउ परेका नागरिकले नेपाल प्रवेश गर्दा कुन प्रक्रिया अपनाएका थिए, उनीहरूसँग प्रवेश तथा बसाइसम्बन्धी आवश्यक कागजात थिए वा थिएनन् र सम्बन्धित उद्योगहरूले विदेशी कामदार राख्दा कानुनी प्रक्रिया पूरा गरेका थिए कि थिएनन् भन्ने विषय अध्यागमन विभागको अनुसन्धानपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।
यस घटनामा विदेशी नागरिकलाई काममा लगाउने उद्योग सञ्चालकहरूको भूमिका र उनीहरूले पूरा गर्नुपर्ने कानुनी दायित्वबारे समेत सम्बन्धित निकायबाट आवश्यक छानबिन हुनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan