भ्रष्टाचार र कुशासनविरुद्ध एकजुट हुन प्रधानमन्त्री बालेनको आह्वान
विजयादशमीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने— परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्छ
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नागरिक एकजुट हुनुपर्ने आह्वान गरेका छन्।
विजयादशमीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले सरकार आफ्ना लागि छ भन्ने अनुभूति गर्न पाउनुपर्ने बताएका हुन्। उनले यस्ता विकृति र विसङ्गति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा जोड दिएका छन्। विजयादशमीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै उनले समाजमा विद्यमान नकारात्मक सोच र प्रवृत्तिलाई त्याग्नुपर्ने सन्देश दिएका छन्।
उनले विजयादशमीको धार्मिक तथा सांस्कृतिक महत्त्व स्मरण गर्दै पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा यस पर्वलाई लिइने बताएका छन्।
प्रधानमन्त्री शाहले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने उल्लेख गरेका छन्। टाढा रहेका आफन्त तथा मान्यजनलाई खोजीखोजी भेट्ने र आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि यस पर्वको विशेष महत्त्व रहेको उनको भनाइ छ।
उनले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न विजयादशमीले प्रेरणा दिने बताएका छन्।
भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले भरिएको नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्न चाडपर्वले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले सद्भाव, सम्मान, एकता र आपसी प्रेम साटासाट गरेर विजयादशमी मनाउन आग्रह गरेका छन्।
अन्त्यमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै आ–आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन आह्वान गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशको अन्त्यमा ‘जय दुर्गा भवानी’ भन्दै विजयादशमीको शुभकामना दिएका छन्।

