आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि
राँझा (बाँके), १० कात्तिक : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै ग्रामीण कृषि कर्म सहज बन्दै गएको छ । विशेषगरी धान तथा गहुँ थन्क्याउने बेलामा जनशक्तिको अभाव झेल्दै आएका किसानहरूका लागि धान र गहुँ झार्ने थ्रेसर मेसिन, काट्ने रिपरजस्ता प्रविधिको विकासले एकातिर किसानको समय र श्रम बचत गरेको छ भने अर्कोतिर ग्रामीण क्षेत्रका युवाहरूका लागि स्वरोजगार र आम्दानीको गतिलो माध्यमसमेत बनेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१९ का किसान मोहम्मद इस्लाम खाँका आँखा अगाडि अझै पनि दश वर्षअघिको दृश्य घुमिरहन्छ । उतिबेला पाकेको धानका बिटा बाँधेर खलामा लैजानुपथ्र्यो वा खेतका गरामै खलो बनाएर जनशक्ति खेताला लगाई धान झार्नुपथ्र्यो । त्यो बेला कसैले “एकैछिनमा धान झार्ने मेसिन आउँछ” भन्दा उहाँ पत्याउनु हुन्नथ्यो । आज समय बदलिएको छ । हिजो मेसिनको अस्तित्वमाथि शङ्का गर्ने उनै इस्लाम खाँ अहिले धान बाली थन्क्याउन थ्रेसर मेसिनको नियमित प्रयोगकर्ता हुनुहुन्छ ।
“अहिले यो मेसिनका कारण पाकेको धान झार्न असाध्यै सजिलो र छिटो भएको छ”, खाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “गाउँका सबैजसो किसानले धान बाली स्याहर्न थ्रेसर नै प्रयोग गर्छन् । वैदेशिक रोजगार र अन्य कारणले खेतीपातीमा काम गर्ने जनशक्ति कम हुँदै गएका बेला यो मेसिन किसानका लागि ठूलो सहारा बनेको छ ।”
बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती प्रणालीलाई एकाएक सहज बनाइदिएको छ । नेपालगञ्ज–१९ सुईया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री एक दशकदेखि जोत्नका लागि ट्याक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आउनुभएको छ । त्यसअघि अर्मपर्म तथा खेताला लगाएर खेती गर्ने उहाँको अनुभवमा प्रविधिले कामलाई पूर्ण रूपमा बदलिदिएको छ । “गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन्”, क्षेत्रीले भन्नुभयो, “मजदुरी लगाउँदा समय धेरै लाग्छ तर थ्रेसर लगाउँदा बिना झन्झट समयमै धान भित्राउन पाइन्छ । पैसा भएपछि रोप्नदेखि उत्पादन भित्र्याउनसम्म धेरै सजिलो भएको छ ।”
गाउँगाउँमा थ्रेसर मेसिनको माग बढेसँगै यसले स्थानीय स्तरमा स्वरोजगारको अवसर पनि सिर्जना गरेको छ । नेपालगञ्ज–१९ का अमजत अली शेखले पनि सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गर्दै आउनुभएको छ । उहाँका अनुसार विशेषगरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्छन् । “थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली थन्क्याउन सकिन्छ”, शेखले यसको फाइदा खुलाउँदै भन्नुभयो, “पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने झन्झट हुँदैन । काम छिटो, खर्च कम र समयको बचत हुन्छ ।” शेखले रु तीन लाख ५० हजार रूपैयाँमा किनेको थ्रेसर मेसिनबाट धानबालीको सिजनमा मात्रै सबै खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म कमाई गर्ने गर्नुहुन्छ । उहाँले शुल्कबापत प्रतिघण्टा रु.दुई हजार ५०० वा एक क्विन्टल धान बराबर १२ किलो धान लिने गर्नुभएको छ ।
केही वर्ष अघिसम्म गाउँमा सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेत–खेतमा थ्रेसर मेसिन पुर्याउनु पर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ । गाउँमा सुरुमा आफूले थ्रेसर मेसिन सञ्चालन गरेपनि अहिले अन्य गाउँबाट समेत किसानले मेसिन मगाउने भएकोले प्रतिष्पर्धा हुने गरेको छ । यतिबेला धान झार्ने समयमा बिहान ५ बजेदेखि राति १२ बजेसम्म पनि किसानको खेतमै थ्रेसर पु¥याउने गरेको अमजतले बताउनुभयो ।
राप्ती सोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले मजदूरी लगाएर धान झार्न लामो समय लाग्ने र धेरै जनशक्ति चाहिने भएकाले थ्रेसर मेसिनप्रति किसानको आकर्षण ह्वात्तै बढेको बताउनुभयो । उहाँका अनुसार परम्परागत खेती प्रणालीको विकल्पमा भित्रिएको आधुनिक कृषि यन्त्र थ्रेसर मेसिनले ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । एकातर्फ यसले खेतीपातीमा जनशक्ति अभावको समस्यालाई समाधान गर्दै समयमै बाली भित्र्याउन सघाएको छ भने अर्कातर्फ मिहेनेती युवाहरूलाई आफ्नै गाउँमा बसेर स्वावलम्बी र आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ ।
वलीले आफ्नो सहकारीमा आबद्ध आठ हजार बढी किसान सदस्य अहिले कृषि कर्ममा आधुनिक प्रविधिको प्रयोग गरी छिटोछरितो र गुणस्तरीय उत्पादन गर्दै आएको बताउनुभयो । कृषिमा मेसिनको प्रयोगले आर्थिक रुपमा सस्तो हुने, श्रमको प्रयोग गर्न नपर्ने र छिटो पनि हुने भएकोले किसान प्रविधिमैत्री बन्दै गएको उहाँको भनाइ छ । सरकारका तर्फबाट यस्ता कृषि उपकरण खरिदमा अनुदान वा सहुलियत दिन सकेमा कृषिमा थप यान्त्रिकीकरण भई उत्पादन लागत घट्ने र गाउँ–गाउँमा स्वरोजगारका अवसरहरू थप विस्तार हुने उहाँले उल्लेख गर्नुभयो ।
कृषिमा श्रम अभाव र बढ्दो लागत किसानका लागि चुनौती बन्दै गएका बेला बाँकेका किसानले कृषि प्रविधिलाई विकल्पका रूपमा अपनाउन थालेका छन् । धान काट्ने समय सुरु भएसँगै खेतमा परम्परागत श्रमशक्तिको स्थान कृषि यन्त्रले लिन थालेको छ । यसले कृषि पेशालाई निर्वाहमुखीबाट क्रमशः व्यावसायिक र प्रविधिमैत्री बनाउने संकेत देखाएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताउनुभयो । उहाँका अनुसार यतिबेला धान झार्न प्रयोग हुने थ्रेसर र धान काट्न प्रयोग हुने रिपर मेसिनप्रति किसानको आकर्षण पछिल्ला वर्षमा बढ्दै गएको छ ।
कृषिमा काम गर्ने जनशक्तिको अभाव, मजदूरको बढ्दो ज्याला र समयमै खेतीको काम सम्पन्न गर्नुपर्ने बाध्यताले किसानलाई यान्त्रिकीकरणतर्फ आकर्षित गरेको छ । रिपर मेसिनले प्रतिघण्टा करिब १० देखि १५ कठ्ठासम्म धान काट्न सक्ने र करिब एक लिटर डिजेल खपत गर्ने गर्दछ । यसले छोटो समयमा ठूलो क्षेत्रफलको धान काट्न सहयोग पुर्याउने भएकाले किसानको समय र श्रम दुवै बचत हुने गरेको केसीले बताउनुभयो ।
धान काट्ने काममा मात्रै नभई खेत तयार पार्नसमेत किसानले आधुनिक उपकरणको प्रयोग बढाएका छन् । मिनि टिलर जोत्न प्रयोग हुने प्रमुख उपकरणका रूपमा स्थापित हुँदै गएको छ । केसीेका अनुसार मिनि टिलरले प्रति घण्टा करिब पाँचदेखि १० कठ्ठासम्म जमिन जोत्नसक्ने र करिब एक लिटर डिजेल खपत गर्ने गर्दछ । यसबाट किसानले कम जनशक्तिमा खेतीको तयारी गर्नसक्ने अवस्था बनेको छ ।
कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रभाव खेतीपातीको काममा मात्र सीमित छैन । घाँस काट्ने मेसिन, दाना कुट्ने उपकरण, पशुपालनमा प्रयोग हुने काउ म्याटलगायतका सामग्रीको प्रयोग समेत बढ्दै गएको छ । कृषि उत्पादनसँगै पशुपालनलाई पनि प्रविधिसँग जोड्नसके उत्पादन लागत घटाउने, श्रम व्यवस्थापन गर्ने र व्यावसायिक उत्पादन विस्तार गर्ने सम्भावना बढ्ने केसीको भनाइ छ । “कृषिमा प्रविधिको प्रवेशलाई मजदुरको विकल्पका रूपमा मात्र बुझ्नु उपयुक्त हुँदैन । यसले किसानलाई समयमै खेती गर्न, श्रम र लागत व्यवस्थापन गर्न, उत्पादनको आकार बढाउन तथा कृषिलाई व्यवसायसँग जोड्न मद्दत गर्छ”, उहाँले भन्नुभयो,“खेतमा यन्त्रको प्रयोग बढ्नु कृषि औद्योगिकीकरणतर्फ अघि बढ्ने आधारसमेत बन्न सक्छ । तर यान्त्रिकीकरणसँगै किसानको आवश्यकता र स्थानीय अवस्था अनुसार उपयुक्त प्रविधि छनोट, मेसिन सञ्चालनसम्बन्धी सीप, मर्मतसम्भारको व्यवस्था र सहज वित्तीय पहुँच आवश्यक हुन्छ ।”
सरकारले अनुदान वितरणमा पारदर्शिता र वास्तविक किसानको पहुँच सुनिश्चित गर्दै ‘मेसिन दिने’ मात्र होइन, ‘मेसिन चलाउने सीप र बजार दिने’ नीति अघि बढाउनसके कृषि अझ दिगो र व्यावसायिक बन्ने उहाँले उल्लेख गर्नुभयो । कृषि यान्त्रिकीकरणमा स्थानीय तथा प्रदेश सरकारबाट समय–समयमा उपलब्ध हुँदै आएको अनुदानले पनि किसानलाई प्रविधि अपनाउन सहज बनाएको छ । बाँके जिल्लामा कृषि प्रविधिको पहुँच केवल धान झार्नमा मात्र सीमित छैन; यसले समग्र कृषि क्षेत्रको उत्पादकत्व बढाउनसमेत योगदान पुर्याएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्लो समय जिल्लाका धेरैजसो किसानले आधुनिक यन्त्र तथा उपकरण प्रयोग गरेर कृषि कार्य गरिरहेका छन् । कृषिमा प्रविधिको प्रयोगले किसानलाई काममा सहजता ल्याउनुका साथै बालीको नोक्सानी घटाएर उत्पादन वृद्धि गर्नसमेत प्रत्यक्ष सहयोग पुगेको शर्माले बताउनुभयो । पछिल्ला वर्षहरूमा प्रविधिको प्रयोगले कृषि क्षेत्रलाई थप व्यवस्थित र आधुनिक बनाउँदै लगेको छ । खेताला नपाएर खेतमै धान बिग्रिने चिन्ताबाट बाँकेका किसानले राहत पाएका छन्, जसले नेपाली कृषि क्षेत्र बिस्तारै परम्परागत ढाँचाबाट आधुनिकतातर्फ रूपान्तरण भइरहेको सङ्केत गरेको सूचना अधिकारी शर्माको भनाई छ ।
किसानलाई प्रविधिमैत्री बनाउन कृषि ज्ञान केन्द्रले पनि विभिन्न कृषि औजार, मेसिन र उपकरण खरिदमा केही प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । “कृषि हाम्रो अर्थतन्त्रको आधार हो । अब कृषिलाई परम्परागत श्रममा मात्र निर्भर राखेर उत्पादन र आम्दानी बढाउन कठिन हुँदै गएको छ”,उहाँले भन्नुभयो,“हलोजोतदेखि धान कटानीसम्म र पशुपालनदेखि उत्पादन प्रशोधनसम्म प्रविधिको विस्तार गर्नसके किसानको श्रमलाई सम्मान गर्दै कृषिलाई उद्योगसँग जोड्न सकिन्छ । प्रविधिमैत्री कृषि नै भविष्यको आत्मनिर्भर र समृद्ध कृषिको महत्त्वपूर्ण आधार बन्न सक्छ ।”

