जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल भ्रमणमा आउँदै
काठमाडौँ, ११ कात्तिकः जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ ।
नेपालमा रहँदा राज्यसचिव डा कोफ्लरले जर्मनी–नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा ध्यान केन्द्रित गर्नुहुने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ । उहाँले नेपाल सरकार, नागरिक समाज तथा अन्तरराष्ट्रिय र स्थानीय साझेदारका प्रतिनिधिहरूसँग भेटघाट गरी जर्मनी र नेपालबीचको विकास सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गर्नुहुनेछ ।
जर्मनीको सङ्घीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग तत्काल मानवीय सहायता सञ्चालनका साथै प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र पुनर्निर्माणका लागि दीर्घकालीन विकास सहयोगमा खर्च गरिनेछ ।
बाढीका परिणाम र प्रभावित क्षेत्रको मानवीय अवस्थाबारे जानकारी लिन राज्यसचिव डा कोफ्लरले नुवाकोटको भ्रमण गर्नुहुनेछ । भ्रमणका क्रममा उहाँले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रभावित नागरिकसँग अन्तक्र्रिया गरी स्थलगत रूपमा मानवीय सहायता र पुनःस्थापनाका आवश्यकताबारे जानकारीसमेत लिनुहुनेछ ।
काठमाडौँमा राज्यसचिव डा कोफ्लरले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाहरूको भ्रमण गर्नुहुनेछ । साथै, उहाँले स्वास्थ्य क्षेत्रका सरकारी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने बताइएको छ । यसका अतिरिक्त, उहाँले नेपालका वर्तमान तथा भावी विकासक्रम र चुनौतीहरूबारे विस्तृत जानकारी लिन विभिन्न छलफलमा सहभागी हुनुहुनेछ । ती छलफलमा गत वर्ष भएको जेनजी आन्दोलन तथा नेपालमा सङ्क्रमणकालीन न्यायका विषय पनि समेटिनेछन् ।
यस क्रममा राज्यसचिव डा कोफ्लरले विकास सहकार्यका सबै तहबाट विभिन्न दृष्टिकोण बुझ्ने अवसर प्राप्त गर्नुहुनेछ । त्यसैले यो भ्रमण जर्मनी र नेपालबीच लामो समयदेखि कायम रहेको विकास सहकार्यमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
राज्यसचिव डा कोफ्लर सन् २००४ देखि जर्मन संसद्को सदस्य हुनुहुन्छ । उहाँ सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत हुनुहुन्छ । यस भूमिकामा उहाँले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आउनुभएको छ ।
राज्यसचिव डा कोफ्लरले यसअघि सन् २०२२ मा पनि नेपालको भ्रमण गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपालका विभिन्न साझेदारसँग छलफल गर्नुभएको थियो । यस वर्षको भ्रमणले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने र विगतका प्रयासलाई निरन्तरता दिँदै अघि बढ्ने अवसर प्रदान गर्ने बताइएको छ ।

