Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ढाकामा पर्यटन प्रवर्द्धन कार्यक्रम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | रासस

काठमाडौँ, १२ कात्तिकः ढाकास्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा बुधबार ‘नेपाल बोलाउँदैछः भ्रमण गरौँ, अन्वेषण गरौँ र अनुभव गरौँ’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
 
    कार्यक्रममा नेपाल र बङ्गलादेशका पर्यटन क्षेत्रका व्यवसायीबीच व्यावसायिक छलफल भएको थियो । छलफलमा संयुक्त पर्यटन प्याकेज, सामूहिक भ्रमण तथा पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको उक्त दूतावासले जनाएको छ ।
 
    बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बङ्गलादेश सम्बन्धको महत्वपूर्ण आधार भएको बताउँदै बङ्गलादेशी पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको भौगोलिक निकटता, सांस्कृतिक समानता तथा विविध पर्यटकीय गन्तव्यबारे जानकारी दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेश सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव नुरुन नहर चौधरीले पर्यटन सहकार्य र हवाई तथा अन्य सम्पर्क विस्तारले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताउनुभयो । उहाँले पर्यटन व्यवसायीलाई व्यावसायिक सञ्जाल विस्तार, साझेदारी र संयुक्त पर्यटन प्याकेज विकास गर्न आग्रह गर्नुभयो ।
 
    नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपालको प्राकृतिक, सांस्कृतिक, आध्यात्मिक, साहसिक तथा स्वास्थ्य पर्यटनका सम्भावनाबारे जानकारी गराउनुभयो । उहाँले नेपाललाई वर्षभरि भ्रमण गर्न सकिने सुरक्षित र आतिथ्यपूर्ण गन्तव्यका रूपमा प्रस्तुत गर्नुभयो ।
 
    दूतावासका उपप्रमुख प्रतीक कार्की, बङ्गलादेशका टुर अपरेटर एसोसिएसनका अध्यक्ष मोहम्मद हनिफ र एसियन टुरिजम फेयरका अध्यक्ष मोहिउद्दिन हेलालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 
    नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीका प्रतिनिधि ढाकामा जारी तीनदिने १४औँ बङ्गलादेश ट्राभल एण्ड टुरिजम फेयरमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan