Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | रासस/एएनआई

युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

    युरोपेली सङ्घीय सेना (इयुफोर) का अनुसार अक्टोबर २९ मा ब्रस्को नजिकैको गोरिस क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा इटालियन चिनुक हेलिकप्टर दुर्घटनामा परेको हो । घाइते ११ जनाको अवस्था स्थिर रहेको र उनीहरूको उपचार भइरहेको इयुफोरले जनाएको छ ।

    दुर्घटनापछि स्थानीय आपत्कालीन चिकित्सा टोली र इयुफोरका सम्पर्क तथा अवलोकन टोली घटनास्थल पुगेका थिए । उनीहरूले घाइतेलाई उद्धार गरी ब्रस्कोको चिकित्सा केन्द्रमा पु¥याएका थिए ।

    इयुफोरले दुर्घटनामा कुनै पनि सर्वसाधारण घाइते नभएको र नागरिक पूर्वाधार, सम्पत्ति तथा सवारीसाधनमा क्षति नपुगेको स्पष्ट पारेको छ । दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको र तथ्य पुष्टि भएपछि थप जानकारी सार्वजनिक गरिने मिसनले जनाएको छ । साथै, अपुष्ट सूचना नफैलाउन र दुर्घटनामा संलग्न सैनिकको पहिचान तथा राष्ट्रियताबारे अनुमान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेप्रति समवेदना प्रकट गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले इटाली सरकारका तर्फबाट पीडित परिवारप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गर्नुभएको हो । उहाँले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न खटिएका सबै कर्मचारीप्रति पनि सहानुभूति जनाउनुभएको छ ।

    बोस्निया र हर्जगोभिनामा युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत उक्त हेलिकप्टर परिचालित थियो । इटालीको नेतृत्वमा सञ्चालन भइरहेको इयुफोर मिसनले त्यहाँ शान्ति र स्थिरता कायम गर्ने कार्य गर्दै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan