रूसी अखबार नोवाया गजेटा बन्द
रूसी अधिकारीहरूको दबाबका कारण स्वतन्त्र अखबार नोवाया गजेटाले आफ्नो प्रकाशन र सम्पादकीय गतिविधि बन्द गर्ने घोषणा गरेको छ । अधिकारीहरूले यसै महिना अखबारका प्रधान सम्पादक सर्गेइ सोकोलोभको घरमा खानतलासी गरेका थिए भने यस वर्ष पत्रकार ओलेग रोल्डुगिनलाई पक्राउ गरेका थिए ।
सोकोलोभले शुक्रबार युट्युबमा सार्वजनिक गर्नुभएको भिडियो वक्तव्यमा रूसी अधिकारी र सुरक्षा निकायले सम्पादकीय टोलीलाई काम बन्द गर्न बाध्य पारेको बताउनुभएको छ । उहाँले नोभेम्बर ९ मा ३० वर्षदेखि सञ्चालन हुँदै आएको कार्यालय बन्द गरी सर्भरसमेत बन्द गर्ने जानकारी दिनुभयो ।
रोल्डुगिनमाथि कम्प्युटरमा रहेको सूचनामा गैरकानूनी पहुँच बनाएको आरोप छ । उहाँले आरोप अस्वीकार गर्नुभएको छ र मुद्दाको सुनुवाइ पर्खंदै नजरबन्दमा रहनुभएको छ र यसलाई नोभेम्बर १० सम्म थपिएको छ ।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि स्वतन्त्र सञ्चारमाध्यममाथि नियन्त्रण कडा बनाएको थियो । त्यसपछि नोवाया गजेटाले रुसभित्र प्रकाशन घटाएको थियो भने अधिकारीहरूले सोही वर्ष अखबारको सञ्चालन अनुमतिपत्र खारेज गरेका थिए । सरकारले अखबारलाई ‘विदेशी एजेन्ट’ घोषणा गरेको थियो ।
अखबारका तत्कालीन प्रधान सम्पादक दिमित्री मुरातोभले सन् २०२१ मा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासका लागि संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो ।

