Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भ्रामक समाचार र तथ्यहीन आरोपविरुद्ध कांग्रेसको आपत्ति, निष्पक्ष अनुसन्धानको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |
newsabhiyan

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा आरोपप्रति आपत्ति जनाउँदै ती समाचार निराधार र भ्रामक रहेको दाबी गरेको छ।

पाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै सरकारका पछिल्ला गतिविधिबाट विषयान्तर गर्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम र आरोप फैलाइएको जनाएको हो।

विज्ञप्तिमा कांग्रेसले पार्टीको विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसको नेतृत्व र निर्णयको आधिकारिकतालाई निर्वाचन आयोग र अदालतका निर्णयले पुष्टि गरिसकेको उल्लेख गरेको छ। साथै, संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार हालै सम्पन्न १५औँ महाधिवेशनले पनि उक्त विषयलाई थप संस्थागत गरेको दाबी गरिएको छ।

कांग्रेसले लोकतन्त्र, जनअधिकार, विधिको शासन, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा आफ्नो धारणा राख्दा पार्टीविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास हुने गरेको आरोप लगाएको छ। यस्ता अपुष्ट समाचार र प्रचारमा विश्वास नगर्न पनि सचिवालयले आग्रह गरेको छ।

त्यस्तै, बिचौलियासँग सम्बन्धित विषय तथा त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने कांग्रेसको धारणा रहेको विज्ञप्तिमा उल्लेख छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने भन्दै पार्टीले यस विषयमा सरकारलाई पूर्ण साथ र समर्थन रहेको जनाएको छ।

तर, अनुसन्धानको निष्पक्षतामाथि भने कांग्रेसले प्रश्न उठाएको छ। अनुसन्धानमा संलग्न निकायका छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेकाले केही प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भएको हुन सक्ने आशङ्का व्यक्त गरिएको छ।

सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणले अनुसन्धान चयनात्मक ढङ्गले अघि बढेको हो कि भन्ने प्रश्नसमेत उठाएको सचिवालयको भनाइ छ। अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिहरूको संलग्नताबारे विषय सार्वजनिक भइरहेकाले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा कांग्रेस कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गरिएको छ। अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको सचिवालयले जनाएको छ।

कांग्रेसले लोकतन्त्र, सुशासन र जनसरोकारका विषयमा सरकारका सकारात्मक काममा साथ दिने तर विधिको शासन, शक्ति पृथकीकरण, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र संवैधानिक सर्वोच्चताविपरीतका गतिविधिको विरोध गर्ने आफ्नो नीति रहेको दोहोर्‍याएको छ।

अन्त्यमा सचिवालयले सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न तथा आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan