चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
बेइजिङ, १९ कात्तिक : चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उहाँविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो ।
मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा असाधारण रूपमा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्याएको आरोप लगाएका छन् ।
सन् २०२२ मा पोलिटब्युरो सदस्य बन्नुभएका माविरुद्धको अनुसन्धान गत अप्रिलमा सार्वजनिक भएको थियो । त्यतिबेला उहाँमाथि पार्टी अनुशासन र राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।
उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानमा कारबाहीमा पर्ने पछिल्लो वरिष्ठ अधिकारी हुनुहुन्छ ।
गत साता सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनले अनुशासन सुदृढ गर्ने र भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने प्रस्ताव पारित गरेको थियो ।
बैठकले मा सहित ३० भन्दा बढी वरिष्ठ अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको थियो । निष्कासित हुनेमा यसै वर्षको सुरुसम्म सेनाको नेतृत्वमा रहेका एक वरिष्ठ जनरल पनि हुनुहुन्छ ।
पोलिटब्युरोमा २४ सदस्य रहेकामा पछिल्लो समय मा र दुई सैन्य जनरल गरी तीन जना हटाइएका छन् । विश्लेषकहरूका अनुसार भ्रष्टाचारविरोधी अभियान भ्रष्टाचार नियन्त्रणसँगै राष्ट्रपति सीप्रतिको राजनीतिक निष्ठा सुनिश्चित गर्ने माध्यमसमेत बनेको छ ।
मा सन् २०२५ सम्म सिन्जियाङ क्षेत्रको कम्युनिष्ट पार्टी प्रमुख हुनुहुन्थ्यो । त्यसअघि उहाँले हङकङसँग सीमा जोडिएको चीनको प्रमुख औद्योगिक प्रान्त गुआङ्दोङको गभर्नरका रूपमा काम गर्नुभएको थियो । चिनियाँ शासन प्रणालीमा प्रान्तीय गभर्नरभन्दा कम्युनिष्ट पार्टीका प्रमुखको पद शक्तिशाली मानिन्छ ।
पेसाले इन्जिनियर रहनुभएका माले स्थानीय सरकारमा प्रवेश गर्नुअघि एयरोस्पेस उद्योगमा काम गर्नुभएको थियो ।


