युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का
कर्णाली, १९ कात्तिकः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले प्रदेशस्तरीय ‘युवा जलवायु सम्मेलन’ विपद् न्यूनीकरणको आधार बन्नुपर्ने बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वय सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल, पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट, ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोट र सोसेक नेपालको आयोजनामा आज यहाँ ‘युवा जलवायु सम्मेलन’को उद्घाटन गर्दै मन्त्री खड्काले युवाको सुरक्षित भविष्य निर्माणमा सम्मेलन कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
विश्वव्यापी चुनौतीको मुद्दा बनिरहेको जलवायु परिवर्तनको असरबाट कर्णाली प्रदेश टाढा नरहेको बताउँदै उहाँले भन्नुभयो, “कर्णाली अझ बढी जलवायु परिवर्तनको उच्च जोखिममा छ । यसको न्यूनीकरण र अनुकूलनका कार्यक्रममा युवा सहभागिता अनिवार्य सर्त हुनुपर्छ ।”
सामुदायिक वन संरक्षण तथा प्रवद्र्धनले हरित क्रियाकलापमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसमा युवाहरुले आफ्नो सक्रियात देखाउनुपर्नेमा मन्त्री खड्काको जोड थियो । प्रदेश सरकारले जलवायु परिवर्तनलगायत प्राकृतिक विपद् जोखिम न्यूनीकरणका कार्यक्रममा विशेष जोड दिँदै आएको उल्लेख गर्दै उहाँले विकास साझेदार, युवा, पत्रकार तथा नागरिक समाजले सरकारलाई सम्झाउने, झक्झक्याउने काम गरिरहन सुझाउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सरकारले गर्ने काममा विकास साझेदारले गर्दै आएकोप्रति कृतज्ञता प्रकट गर्नुभयो । विश्व समुदायका लागि चुनौती बन्दै गएको जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राखेर आफ्नो पालिकाले जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम गर्दै आएको तथा त्यस्ता कार्यक्रममा युवा सहभागिता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शैक्षिक तथा सामाजिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले भोटेकोशी बाढीपछि जलावायु परिवर्तनको मुद्दा अझ बढी पेचिलो बन्दै गएको बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा यो विषयलाई नीतिगत तहदेखि समुदायसम्म प्राथमिकताका राखेर सचेतनाका क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सेभ द चिल्ड्रेन सुर्खेत फिल्ड कार्यालयका कार्यक्रम व्यवस्थापक विष्णुकुमार बमले युवाको भविष्यलाई चासोका रुपमा लिएर प्रदेशस्तरीय युवा सम्मेलन कर्णालीमा आयोजना गरिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षामा हरित क्रियाकलाप गर्नाका साथै समुदायमा पनि जलवायु न्यायका विषयमा छलफल गरिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष विष्णुप्रसाद शर्मा र किर्डाक नेपालका अध्यक्ष सम्झनाकुमारी मल्लले युवा भविष्यलाई जोखिमबाट मुक्त गर्न जलवायु न्यायसम्बन्धी कार्यक्रम आवश्यक भएको धारणा राख्नुभयो । गैरसरकारी संस्था महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष वीरबहादुर बस्नेतले जलवायु परिवर्तनको बढ्दो असर कम गर्न समुदायलाई सक्रिय बनाउन जरुरी रहेको बताउनुभयो ।
सो सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार सह प्राडा सुदीप ठकुरी र भिडिसेफ नेपालका कार्यक्रम संयोजक मानवबहादुर शाहीले जलवायु परिवर्तनको बढ्दो असर, नेपाल तथा विश्व समुदायले भोगिरहेको चुनौती, त्यसको समाधानका लागि गरिएका प्रयास र आगामी जिम्मेवारीसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त सम्मेलनमा कर्णाली प्रदेशका ४५ स्थानीय तहका ३८–३४ वर्ष उमेर समूहका करिब एक सय युवाको सहभागिता रहेको थियो ।


