Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किबीले दिएको सफलताको स्वाद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | रासस
newsabhiyan

 बागलुङ, २० कात्तिकः अलैँचीखेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गर्नुभयो । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किबी बिक्रीबाट गत वर्ष रु चार लाख आम्दानी भएपछि उहाँ व्यावसायिक खेती विस्तारमा लाग्नुभएको छ ।

रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्कनुभएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती गर्नुभएको थियो । हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन सक्नुभएन । त्यसपछि उहाँले किबी रोज्नुभयो ।

सुरुमा पाँच रोपनीमा लगाएको किबीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उहाँले खेती विस्तार गर्दै थप २० रोपनीमा किबी लगाउनुभएको हो । यस वर्ष उत्पादन बढेकाले आम्दानी दोब्बर बनाउने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
 
“पाँच रोपनीमा लगाएको किबीले उत्पादन दिन थालेपछि खेती विस्तार गरेँ”, शर्माले भन्नुभयो, “आफ्नो भूगोल र हावापानी सुहाउँदो फलफूलखेती गर्नसके सफल हुन सकिनेरहेछ । अलैँचीमा असफल भए पनि किबीमा सफलता मिलेको छ ।”

    गण्डकी प्रदेश सरकारको रु २० लाख अनुदान सहयोगमा उहाँले आफ्नै बारीमा किबीखेती विस्तार गर्नुभएको हो । खेतीलाई अझ विस्तार गर्ने योजना बनाउनुभएका शर्माले उत्पादित किबी बजार पठाउने तयारी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “सुन्तलाखेती पनि सुरु गरेको छु ।”

    सुरुमा प्रतिगोटा रु ५०० मा बिरुवा खरिद गरेर किबीखेती थाल्नुभएका शर्माले अहिले आफ्नो क्षेत्रका अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गर्नुभएको छ । उहाँका अनुसार दमेकमा एक दर्जनभन्दा बढी किसान किबीमा आवद्ध छन् । त्यस क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किबीखेती गर्ने किसान आफू नै भएको उहाँको दाबी छ ।
 
    जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेक क्षेत्र किबीखेतीका लागि सम्भावनायुक्त रहेको बताउनुभयो । उहाँका अनुसार वडाले किसानलाई प्रोत्साहन गर्न ५०० किबीका बिरुवा अनुदानमा वितरण गरेको छ । दमेकको तल्लो क्षेत्रमा गरिएको किबीखेतीको परीक्षण सफल भएको उहाँले जानकारी दिनुभयो ।
 
नेपालमा सामान्यतया समुद्री सतहबाट एक हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिन्छ । यसका लागि उपयुक्त हावापानी, तापक्रम र माटो छनोट गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan