Wednesday 11th of November | २०८३ कार्तिक २५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २५ बुधबार | (रासस)

धनकुटा, २५ कात्तिकः धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गर्दै तिहार मनाउने गर्छन् ।

परिवार र आफन्तबीच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने यो परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा सुरु भएको हो । दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध आत्मीय र प्रगाढ बनाइराख्ने उद्देश्यले सामूहिक रूपमा तिहार मनाउने चलन सुरु गरिएको गहतराजले बताउनुभयो । टोलमा रहेको सानो सामुदायिक घर सामूहिक तिहार मनाउने साझा थलो बनेको छ ।

यस टोलमा तिहार मनाउँदा लाग्ने खर्च सबै घरपरिवारले बराबरी बाँड्ने गरेका छन् । दिदीबहिनीले पनि सबै दाजुभाइलाई एउटै प्रकारका कोसेली दिने चलन छ । भाइटीकामा दिदीबहिनीले दिने दक्षिणा पनि दाजुभाइले व्यक्तिगत रूपमा नराखी बराबरी बाँड्ने गरेका छन् । कसैले बढी र कसैले कम पाउने अवस्था अन्त्य गरी सबै परिवारबीच समानता र आत्मीयता कायम गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको गहतराजले बताउनुभयो ।

सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय सुनार टोलबाट बहुदलीय व्यवस्था पुनःस्थापनापछि दुई जना स्थानीय वडाध्यक्ष बनिसकेका छन् । नगरपालिका स्थापना भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा यसै टोलबाट एक जना दलित महिला सदस्य निर्वाचित भएकी थिइन् ।

व्यक्तिगत रूपमा मनाइने चाडलाई सामूहिक उत्सवमा रूपान्तरण गर्दै आएको सुनार टोलका बासिन्दाले तिहार टीका र दक्षिणामा मात्र सीमित नभई आपसी सम्बन्ध, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने पर्व भएको सन्देश दिन खोजेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan