बर्ड फ्लूको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश
जङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लू) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई आफ्ना चराहरू घरभित्रै राख्न बुधबार आदेश दिएको छ ।
शुक्रबारदेखि लागू हुने उक्त अनिवार्य आदेश ५० वा सोभन्दा बढी कुखुरा तथा अन्य पक्षी पाल्नेहरूका लागि लागू हुनेछ । अण्डा वा कुखुराजन्य उत्पादन बिक्री गर्ने तथा वितरण गर्ने पक्षीपालकले पनि यो आदेश पालना गर्नुपर्नेछ ।
सेप्टेम्बर ३० देखि नोभेम्बर ६ सम्मको अवधिमा बेलायतमा घरपालुवा कुखुरामा एभियन फ्लूका चार घटना पुष्टि भएपछि सरकारले यस्तो कदम चालेको हो ।
यसै अवधिमा इङ्गल्यान्डमा विभिन्न प्रजातिका जङ्गली चरामा पनि यस रोगका १६ घटना पुष्टि भएका छन् । त्यसपछि अधिकारीहरूले बेलायतभर जङ्गली चरामा एभियन फ्लू फैलिने जोखिमको स्तर मध्यमबाट बढाएर उच्च बनाएका छन् ।
सरकारले पक्षीपालकका लागि तत्काल लागू हुने अनिवार्य जैविक सुरक्षा उपायसमेत घोषणा गरेको छ । यसअन्तर्गत जुत्ता कीटाणुरहित बनाउने तथा पक्षी राख्ने स्थान र कङ्क्रिटका पैदलमार्ग नियमित रूपमा सफा गरी निःसङ्क्रमण गर्नुपर्नेछ ।
बेलायतकी प्रमुख पशु चिकित्सा अधिकारी क्रिस्टिन मिडलमिसले विज्ञप्तिमार्फत पक्षीपालकलाई चराहरू घरभित्रै राख्ने व्यवस्थाको पालना गर्न र जैविक सुरक्षाका उपाय कडाइका साथ अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले रोगका लक्षणबारे सतर्क रहन र सङ्क्रमणको आशङ्का भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।
यस विषयमा जिम्मेवार सरकारी मन्त्रालयले एभियन फ्लूको प्रकोपले उपभोक्ताका लागि क्रिसमसमा टर्की वा अन्य मौसमी कुखुराजन्य उत्पादनको उपलब्धतामा समग्र रूपमा असर पार्ने अनुमान नरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार एभियन फ्लूबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम पनि निकै कम छ ।


