नाटोका आठ देशद्वारा बाल्टिक सागरमा पनडुब्बीविरोधी अभ्यास सुरु
आठ नाटो सदस्य राष्ट्रले बाल्टिक सागरमा पाँचदिने पनडुब्बीविरोधी सैन्य अभ्यास सुरु गरेका छन् । नाटोका एक वरिष्ठ कमाण्डरले पनडुब्बीलाई निरन्तर सुरक्षा चुनौतीका रूपमा व्याख्या गरेका छन् ।
सोमबारदेखि शुक्रबारसम्म स्विडेनको नेतृत्वमा हुने उक्त अभ्यासमा बेलायत, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी र नेदरल्यान्ड्स सहभागी छन् । बाल्टिक सागर पश्चिमी राष्ट्रहरूले रुसमाथि आरोप लगाउँदै आएका तथाकथित ‘हाइब्रिड युद्ध’ गतिविधिको प्रमुख क्षेत्र बनेको छ ।
नाटोका अनुसार अभ्यासमा हजारौँ नौसैनिक, जर्मनी र स्विडेनका पनडुब्बी, विभिन्न देशका युद्धपोत तथा हवाई गस्तीका साधन सहभागी हुनेछन् । अभ्यासअन्तर्गत पनडुब्बी पत्ता लगाउने र तिनको निगरानी गर्ने विभिन्न चरणका गतिविधि सञ्चालन गरिनेछन् ।
नाटोले बाल्टिक क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति बढाएको छ । सैन्य विज्ञहरूका अनुसार उक्त क्षेत्रको उथलो समुद्र र तीव्र जलयातायातका कारण पनडुब्बी पत्ता लगाउन प्रयोग हुने ध्वनि सङ्केत पहिचान गर्न कठिन हुन्छ । यसले पनडुब्बीलाई सजिलै लुक्न सहयोग पु¥याउँछ ।
पनडुब्बीसम्बन्धी नाटोका कमाण्डर रियर एडमिरल जोन क्र्याडकले एएफपीसँग कुरा गर्दै समुद्रमुनि निरन्तर प्रभाव कायम राख्न सक्ने एकमात्र प्रविधि पनडुब्बी रहेको बताउनुभयो ।
“त्यसैले पनडुब्बीले समुद्रमुनि आफ्नो प्रभुत्व कायम राख्न सक्ने भएकाले तिनलाई पत्ता लगाउन सक्ने क्षमता आवश्यक छ,” उहाँले भन्नुभयो । पनडुब्बी पत्ता लगाउने सीप अभ्यास नगरे खस्कँदै जाने उहाँको भनाइ थियो ।
“हामीले यसको निरन्तर अभ्यास गर्नुपर्छ । जबसम्म हामी समुद्रलाई पूर्ण रूपमा पारदर्शी बनाउन सक्दैनौँ, तबसम्म पनडुब्बीहरू खतरा बनिरहनेछन्,” उहाँले भन्नुभयो ।
फ्रान्सेली नौसेनाका रियर एडमिरल निकोलस मोलिटरले बाल्टिक सागरमा रहेका समुद्रमुनिका केबल तथा पाइपलाइनका कारण पनि सुरक्षा चुनौती बढेको बताउनुभयो ।
अभ्यासका क्रममा एएफपीसँग कुरा गर्दै उहाँले समुद्रमुनि सञ्चालन गर्न सकिने मानवरहित उपकरण तथा रोबोटबाट पनि खतरा रहेको उल्लेख गर्नुभयो । समुद्रमा लङ्गर घिसार्दै हिँड्ने पानीजहाजले पनि अत्यावश्यक पूर्वाधारमा क्षति पु¥याउन सक्ने उहाँले बताउनुभयो ।


