Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

होर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने तेहरानको अडान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | (रासस/एएफपी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक गति’ देखिएको बताइरहेका बेला इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना माग पूरा गर्नुपर्ने जनाएको छ ।

    कतार र पाकिस्तानले मध्यपूर्वको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाइरहेका छन् । फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि युद्ध सुरु भएको थियो ।

    इरानले अमेरिकाले आफ्ना सर्त पूरा गरेमा द्वन्द्व सुरु भएदेखि बन्द रहेको विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग होर्मुज दुई दिनभित्र खुला गर्न सकिने जनाएको छ ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी समाचार संस्था इर्नासँग कुरा गर्दै सैन्य कारबाही वा थप प्रतिबन्धबाट द्वन्द्व समाधान नहुने बताउनुभयो । इरानका माग सम्बोधन गर्दै कूटनीतिक वार्तामा सहभागी हुनु नै समस्याको समाधान भएको उहाँको भनाइ थियो ।

    इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउने तथा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्नुपर्ने माग समावेश छन् ।

    यसअघि सोमबार कतारका प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताउनुभएको थियो । मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि वासिङ्टनले इरानमाथि पुनः आक्रमण गर्ने धम्की कम गरेको देखिएको छ ।

    सामाजिक सञ्जालमा ट्रम्पले अमेरिका पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै खाडी क्षेत्रका सहयोगी राष्ट्रहरू यथास्थिति कायम राख्न चाहेकाले थप आक्रमणको सम्भावना न्यून रहेको बताउनुभयो । अमेरिकाको हित सुरक्षित राख्दै युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक गति देखिएको उहाँको भनाइ थियो ।

    कतारका विदेश मन्त्रालयका अधिकारी इब्राहिम अल–हास्मीले पनि वार्तामा प्रगति भएको बताउनुभएको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षका अडानबीचको दूरी घटाउन निरन्तर प्रयास गरिरहेको र आफूहरू आशावादी रहेको उहाँले बताउनुभयो ।

    इरानी राजनीतिक विश्लेषक अली बिगदेलीले अमेरिकी मध्यावधि निर्वाचनपछि वासिङ्टन वार्तामा केही लचिलो देखिएको बताउनुभयो । तर, इरानका माग अमेरिकाका लागि स्वीकार गर्न कठिन रहेको उहाँको भनाइ थियो । दुवै देशबीचको गहिरो अविश्वासका कारण समाधान जटिल बनेको उहाँले उल्लेख गर्नुभयो ।

    यसैबीच, इरानका सुरक्षा अधिकारी मोहसेन रेजाईले अमेरिकालाई इरानी माग स्वीकार गरी युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

    युद्ध पुनः सुरु हुन सक्ने आशङ्काले खाडी क्षेत्रका राष्ट्रहरू पनि चिन्तित छन् । संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले कूटनीतिक समाधानमार्फत खाडी क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गर्नुभयो । यद्यपि, लामो समयसम्म अनिश्चितता कायम रहे निर्णायक समाधान र क्षेत्रीय स्थिरता दुवै प्रभावित हुने उहाँको चेतावनी थियो ।

    यसैबीच, साउदी अरबको राजधानी रियादमा विस्फोटका आवाज सुनिएका छन् । साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र बीचैमा निष्क्रिय पारेको जनाएको छ ।

    इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानविरुद्धको सैन्य अभियान अझै पूरा नभएको बताउनुभएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिनुभएको छ । तर, ट्रम्पले यस्तो आक्रमणलाई समर्थन गर्नुहुन्छ वा हुन्न भन्ने स्पष्ट भइसकेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan