Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोनियाको संस्मरणमा प्रेम र सङ्घर्ष

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | (रासस/एएफपी)

भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध युवाहरूको बढ्दो असन्तुष्टिबाट राजनीतिक शक्ति पुनः प्राप्त गर्ने प्रयास गरिरहेका बेला पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो जीवनका प्रेम, पारिवारिक सम्बन्ध, जिम्मेवारी र वियोगका अनुभव समेटिएको संस्मरण सार्वजनिक गर्नुभएको छ ।

    उनासी वर्षीया सोनियाको ‘बिलङ्गिङ ः अ जर्नी अफ लभ’ शीर्षकको पुस्तक मङ्गलबार सार्वजनिक भएको हो । इटालीको एउटा सानो गाउँमा जन्मिएर भारतको राजनीतिक शक्तिको केन्द्रसम्म पुग्नुभएकी उहाँले पुस्तकमा प्रेम, कर्तव्य र आफ्नो पहिचान खोज्दाको यात्रा समेट्नुभएको छ ।

    सन् १९४६ मा इटालीको क्याथोलिक परिवारमा जन्मिनुभएकी सोनियाले सन् १९६५ मा क्याम्ब्रिजमा अध्ययनरत राजीव गान्धीलाई भेट्नुभएको थियो । उहाँहरूबीचको प्रेम विवाहमा परिणत भयो । सन् १९६८ मा विवाह गर्दा सोनियाले भारतको स्वतन्त्रता आन्दोलनका बेला जवाहरलाल नेहरूले जेलमा बुनेको धागोबाट तयार पारिएको साडी लगाउनुभएको थियो ।

    राजीवका हजुरबुबा नेहरू भारतका पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो भने आमा इन्दिरा गान्धीले सन् १९६६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । सन् १९८४ मा इन्दिराको हत्या भएपछि सोनियाले पारिवारिक राजनीतिक सङ्घर्ष नजिकबाट अनुभव गर्नुभयो । उहाँले राजीवलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्न आफूले निकै प्रयास गरेको र उहाँ प्रधानमन्त्री बन्ने प्रस्तावको विपक्षमा रहेको बताउनुभएको छ ।

    सन् १९९१ मा श्रीलङ्काको गृहयुद्धमा भारतको सैन्य हस्तक्षेपसँग जोडिएको आत्मघाती बम आक्रमणमा राजीवको हत्या भएपछि सोनिया छोरा राहुल र छोरी प्रियङ्काको पालनपोषणमा केन्द्रित हुनुभयो । तर, सन् १९९८ मा काङ्ग्रेस नेताहरूको आग्रहमा उहाँले कमजोर बनेको पार्टीको नेतृत्व सम्हाल्नुभयो ।

    सन् २००४ को निर्वाचनमा काङ्ग्रेस विजयी भएपछि सोनियाले प्रधानमन्त्री बन्न अस्वीकार गर्दै अर्थशास्त्री मनमोहन सिंहलाई उक्त जिम्मेवारी दिनुभयो । भ्रष्टाचारका विवादले सिंह नेतृत्वको सरकार घेरिएपछि सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) सत्तामा पुग्यो । त्यसयता मोदी नेतृत्वको भाजपाले आफ्नो प्रभाव विस्तार गर्दै आएको छ भने सोनियाको विदेशी जन्मलाई पनि राजनीतिक आलोचनाको विषय बनाइएको छ ।

    सन् २०१९ को निर्वाचनमा काङ्ग्रेसको पराजयपछि मोदीले राहुललाई ‘राजकुमार’ भन्दै आलोचना गर्नुभएको थियो । पछिल्लो समय युवाहरूको नेतृत्वमा भएका विरोध प्रदर्शनले काङ्ग्रेसलाई पुनः राजनीतिक गति दिएको छ । राहुलले निर्वाचन आयोगले भाजपालाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै प्रदर्शनको नेतृत्व गर्नुभएको छ । आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ ।

    सोनियाले द हिन्दू अखबारसँगको अन्तर्वार्तामा पछिल्लो १२ वर्षमा भारतको लोकतन्त्र र संस्थाहरूमा ठूलो क्षति पुगेको बताउनुभएको छ । तर, मानिसहरूले त्यसलाई पहिचान गर्न थालेको र भारतका जनताले उचित शासन व्यवस्थामा फर्कने चाहना राख्ने विश्वास आफूमा रहेको उहाँले बताउनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan