सर्बिया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने युवक पक्राउ
काठमाडौँ, ३ मङ्सिर: वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाएर रु ३० लाख ३० हजार ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० का २४ वर्षीय रोशन खड्का रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको हरिसिद्धीबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खड्काले एक व्यक्तिलाई सर्बिया पठाइदिने भन्दै रु ३० लाख ३० हजार लिएका थिए । रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा खड्कालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


