मुख्यमन्त्री थापा लड्केश्वर मेलामा सहभागी
काभ्रेपलाञ्चोक, ५ मङ्सिरः बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा हरिबोधनी एकादशीका दिन शुक्रबार काभे्रको पनौती नगरपालिका–११ बल्थलीस्थित प्रसिद्ध लड्केश्वर महादेव मन्दिरमा लागेको धार्मिक मेलामा सहभागी हुनुभयो ।
सो अवसरमा उहाँले धार्मिक तथा साँस्कृतिक परम्पराको संरक्षण र प्रबर्द्धनमा जोड दिनुभएको थियो । करिब ३५० वर्ष पुरानो इतिहास बोकेको यस मेलामा काभ्रेपलाञ्चोकसहित आसपास विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् ।
गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न प्रत्येक वर्ष भक्तजन पुग्ने गर्छन् । मन्दिर परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो शिव–त्रिशूल र १०८ शिवधाराले यस धामको धार्मिक तथा पर्यटकीय महत्व थप बढाएको छ ।
धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले लड्केश्वर महादेवको दर्शन तथा पूजाआजा गरेपछि यहाँ मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ । मेलाका अवसरमा भक्तजनले महादेवको पूजाआजा गर्नुका साथै भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ ।
धार्मिक आस्था र स्थानीय संस्कृतिको संरक्षणसँग जोडिएको यस मेलाको महत्वलाई ध्यानमा राख्दै पनौती नगरपालिकाले यस अवसरमा स्थानीय बिदा दिँदै आएको छ ।
–––


