Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एआई प्रविधिबाट सञ्चालित हतियार नियन्त्रणमा विश्वव्यापी चुनौती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस/एपी)

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोन हतियारको प्रयोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियम बनाउने प्रयासमा संयुक्त राष्ट्रसंघको वार्ता ठोस सहमतिविना टुङ्गिएको छ ।

जेनेभामा शनिबार सम्पन्न राष्ट्रसंघ समर्थित एक साताव्यापी सम्मेलनमा सहभागी देशहरूले घातक स्वचालित हतियार प्रणालीसम्बन्धी सम्भावित सम्झौताबारे सन् २०२८ सम्म थप छलफल गर्ने सहमति गरेका छन् । तर, हतियारको प्रयोग नियन्त्रण गर्न कानुनी रूपमा बाध्यकारी नियम बनाउने विषयमा सहमति हुन सकेन ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देश तथा अधिकारकर्मीहरूले यस वर्षभित्रै त्यस्ता हतियार नियन्त्रणसम्बन्धी बाध्यकारी सम्झौताका लागि वार्ता सुरु गर्नुपर्ने माग गर्दै आएका थिए ।

निरस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले वार्ताको परिणामलाई महत्त्वपूर्ण उपलब्धि भने पनि अपेक्षाअनुसार कानुनी सम्झौता हुन नसकेको स्वीकार गर्नुभयो ।

यसैबीच, ‘स्टप किलर रोबोट्स’ अभियानले सहमतिलाई कमजोर र अपेक्षाभन्दा कम प्रभावकारी भन्दै आलोचना गरेको छ । अन्तर्राष्ट्रिय कानुनसम्बन्धी संस्था लेक्स इन्टरनेसनलकी संस्थापक बिट्रिस फिनले यस निर्णयले समस्याको समाधान थप दुई वर्ष पछाडि धकेलेको बताउनुभयो ।

ब्राजिलसहित अस्ट्रिया, बेल्जियम, आयरल्यान्ड, मेक्सिको, न्युजिल्यान्ड र पानामाले स्वचालित घातक हतियारको प्रयोग नियन्त्रण गर्ने नियम बनाउन वार्ता सुरु गर्न प्रस्ताव गरेका थिए । तर, उक्त प्रस्ताव सफल हुन सकेन ।

रुस र अमेरिकालगायत प्रमुख सैन्य शक्तिहरूले कडा नियन्त्रणको प्रस्तावमा अवरोध गरेको अधिकारकर्मीहरूको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan