Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सभामुख अर्यालसँग कतारका राजदूत अन्सारीको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

काठमाडौँ, ८ मङ्सिर : सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेट गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवायस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीचको सम्बन्ध र आपसीहित विषयमा विचार विमर्श भएको थियो ।

सो अवसरमा सभामुखले भोटेकोशी बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद ज्ञापन गर्दै नेपालको पुन:निर्माण तथा पुन: स्थापनामा थप सहयोगको अपेक्षा गर्नुभयो । 

त्यस अवसरमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्य थप सुदृढ भइरहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा दुई देशबीच रहँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्यमा जोड दिनुभएको थियो । उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

नेपालको कृषि उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने सम्भावनाबारे चर्चा गर्दै सभामुख अर्यालले नेपालबाट उत्पादित फलफूल, तरकारी, अन्नलगायतका कृषि उपज कतारमा निर्यात गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो ।

त्यस्तै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सभामुख अर्यालले खेलकुदको विकास र प्रवर्द्धनका लागि पनि दुई देशबीच सहकार्य विस्तार गर्न आग्रह गर्नुभयो । भेटमा राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताउनुभएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan