सूर्यविनायकमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
भक्तपुर, ९ मङ्सिरः सूर्यविनायक नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ आजदेखि सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ स्थित बनाचौर खेलमैदानमा आयोजित प्रतियोगिताको नगरप्रमुख वासुदेव थापाले झण्डोत्तोलन गरी उद्घाटन गर्नुभयो ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाका अनुसार प्रतियोगितामा ४० विद्यालयका करिब ९०० विद्यार्थी सहभागी छन् । फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी सात विधामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता नगरपालिकाका विभिन्न छ स्थानमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताका प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनका अवसरमा १४ विद्यालय सहभागी स्काउट मार्चपास प्रतियोगितामा मनोरम इङ्गलिस बोर्डिङ स्कुल प्रथम, मोर्डन बोर्डिङ इङ्गलिस स्कुल द्वितीय र सुवर्णेश्वर आधारभूत विद्यालय तृतीय भएका छन् । प्रतियोगिताका संयोजक एवं नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार मार्चपासमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार समापन समारोहमा प्रदान गरिनेछ ।
नगरप्रमुख थापाले नगरपालिकाले प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने अभियान सञ्चालन गरेको र चालु आर्थिक वर्षमा खेलकुद विकासका लागि रु एक करोड ३० लाख विनियोजन गरेको जानकारी दिनुभयो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले निःशुल्क आधारभूत खेलकुद प्रशिक्षणसमेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
नगर उपप्रमुख सरिता भट्टराई तिमल्सिनाले नगरपालिकाले वडादेखि नगरस्तरसम्म खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो ।
प्रतियोगिता यही मङ्सिर ११ गते समापन हुनेछ ।
