Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘लैङ्गिक हिंसा अन्त्य गर्ने अभियान घरबाटै सुरु गर्नुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | (रासस)

काठमाडौँ, १० मङ्सिरः शिक्षित श्रीमान् र सम्पन्न परिवार देखेर उहाँले विवाह गरेकी गर्नुभएको थियो । आर्थिक अवस्था सम्पन्न भएकाले आफूले कुनै विभेद भोग्नुनपर्ने उहाँको सोच थियो । तर, विवाह गरेको एक वर्ष नबित्दै दाइजो नल्याएको भन्दै श्रीमान्बाट मानसिक यातना सहनुपरेको छ ।

    अधिवक्ता एवं महिला अधिकारकर्मी रसना ढकालसमक्ष घरेलु हिंसाको गुनासो लिएर आएकी ती महिलाको पीडाजस्तै घरेलु हिंसाका अनेक घटना छन् । ढकालका अनुसार यो हालैको घटना हो । उहाँले भन्नुभयो, “अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ तर हिंसा भने झन् बढ्दै गएको छ ।”

    ढकालका अनुसार लैङ्गिक हिंसा घट्नुको सट्टा त्यसको स्वरूप र प्रकृति परिवर्तन हुँदै गएको छ । विशेषगरी काठमाडौँजस्तो शिक्षित सहरमा समेत घरेलु हिंसा डरलाग्दो रूपमा बढिरहेको उहाँको अनुभव छ । “सहर र घरको उचाइ हेरेर व्यक्तिको चेतना मापन गर्न सकिँदो रहेनछ”, उहाँले भन्नुभयो, “दाइजोका नाममा श्रीमान् र परिवारका सदस्यबाट मानसिक यातना भोगिरहेका महिलाका यस्ता धेरै मुद्दा छन् ।”

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सबैले अपनत्व महसुस गर्ने र बुझ्ने गरी रचनात्मक ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ ।

    शङ्खमूल निवासी झुमा (नाम परिवर्तन) अधिकारकर्मी हुनुहुन्छ । उहाँ अरूको अधिकारका लागि सङ्घर्ष गर्ने संस्थामा कार्यरत हुनुहुन्छ । हिंसा सहनु हुँदैन भन्ने उहाँको मुख्य सिकाइ हो । यद्यपि, आफ्नै परिवारभित्र हिंसारहित वातावरण कायम गर्न पनि निकै सङ्घर्ष गर्नुपरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “परिवारबाटै हिंसा हटाउन सकिएन भने नीति र कानुनले मात्रै सम्भव छैन ।”

    हिंसाको मूल स्रोत परिवारभित्रै रहेको विभिन्न तथ्याङ्कले पनि पुष्टि गर्छन् । राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा घरेलु हिंसासम्बन्धी ६५ वटा मुद्दा दर्ता भएका छन् ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लैङ्गिक हिंसासम्बन्धी वार्षिक प्रतिवेदनमा महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी पीडित हुने गरेको उल्लेख छ । प्रहरीको तथ्यपत्रअनुसार उक्त आर्थिक वर्षमा देशभर महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका २१ हजार ६६७ वटा उजुरी दर्ता भएका थिए । यो प्रहरीमा दर्ता भएका कुल अपराधका मुद्दाको १० दशमलव ४ प्रतिशत हो ।

    दर्ता भएका उजुरीमध्ये घरेलु हिंसाका १७ हजार ४९६ वटा छन् । यो कुल लैङ्गिक हिंसाका घटनाको करिब ८१ प्रतिशत हो । घरेलु हिंसाका घटनामध्ये मानसिक यातना ५१ दशमलव ८६ प्रतिशत, शारीरिक हिंसा ४० दशमलव ०८ प्रतिशत र आर्थिक हिंसा ७ दशमलव ९९ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

    प्रदेशगत तथ्याङ्कअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी छ हजार ९४३ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा दुई हजार ८७५, बागमती प्रदेशमा एक हजार ३८०, कोशी प्रदेशमा एक हजार ३५६, सुदूरपश्चिममा एक हजार १९४, कर्णालीमा ९९६ र गण्डकीमा ८५० वटा घटना दर्ता भएका छन् ।

    नेपालमा लैङ्गिक हिंसाविरुद्ध कानुनी उपचारका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, मुलुकी अपराध संहिता, २०७४, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१, बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, विद्युतीय कारोबार ऐन, २०६३ र अपराध पीडित संरक्षण ऐन, २०७५ लगायतका कानुन कार्यान्वयनमा छन् ।

    राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले लैङ्गिक हिंसा न्यूनीकरणमा मात्र नभई यसको निर्मूलनमा जोड दिनुपर्ने बताउनुभयो । प्रत्येक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आए पनि हिंसाका घटनामा कमी आउन नसकेको उहाँको भनाइ छ । यसको मुख्य कारण घर, परिवार र आम नागरिकमा जनचेतनाको अभाव रहेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हिंसा घरबाट सुरु हुन्छ । घरका सदस्यदेखि राज्य, कानुन र न्यायिक निकाय सबै मिलेर हिंसा निर्मूलनमा लाग्नुपर्छ । नभए हिंसा बढ्दै जान्छ र अभियानको कुनै सार्थकता रहँदैन ।” आयोगका सदस्य खतिवडाले घरपरिवार र आफन्तबाटै लैङ्गिक हिंसालाई प्रश्रय मिलिरहेको बताउनुभयो ।

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सन् १९९१ देखि महिला मानव अधिकारको रक्षा र लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले विश्वव्यापी रूपमा मनाउन थालिएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी यो अभियान मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan