भूकम्पपीडितको पीडा बिर्सेर सांसदहरू चीन भ्रमणमा, आसिका तामाङकै प्रश्न– पुरानाले गर्दा बेठीक, नयाँले गर्दा कसरी ठीक ?
काठमाडौं । रुकुम र जाजरकोटका भूकम्पपीडितले अझै राहत तथा पुनःस्थापनाको अपेक्षा गरिरहेका बेला सांसदहरू भने विभिन्न संसदीय समिति र विदेशी निमन्त्रणाका नाममा विदेश भ्रमणमा निस्किएपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट प्रश्न उठ्न थालेको छ।
सत्ताधारी दल रास्वपाबाट नेतृत्व गरिरहेकी सांसद आसिका तामाङले सांसदहरूको विदेश भ्रमणप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत व्यंग्यात्मक टिप्पणी गरेकी छन्। उनले जनताका आधारभूत समस्या समाधान र भूकम्पपीडितको अवस्थाबारे अध्ययन गर्नुपर्ने जनप्रतिनिधि विदेशमा भूकम्पको अध्ययन गर्न पुगेको भन्दै प्रश्न उठाएकी हुन्।
तामाङले फेसबुकमा लेखेकी छन्, ‘अब सांसदहरू कोही समितिबाट विदेश, कोही विदेशको निमन्त्रणाले विदेश। रुकुम, जाजरकोटमा आजसम्म भूकम्पपीडितले राहत पाएको छैन होला, त्यसको अध्ययन गर्न छोडेर चीनमा कसरी भूकम्प आउँछ भनेर पोका–पुन्तुरा बोकेर अध्ययनका लागि पुग्नुभएको छ।’
उनको यो अभिव्यक्तिले सांसदहरूको विदेश भ्रमणको औचित्य, प्राथमिकता र जनताप्रतिको जवाफदेहितामाथि बहस सिर्जना गरेको छ। विशेषगरी प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकले राहत, आवास र पुनःस्थापनाका समस्या भोगिरहेको अवस्थामा जनप्रतिनिधिको प्राथमिकता के हुनुपर्छ भन्ने प्रश्न उनले उठाएकी छन्।
तामाङले नयाँ राजनीतिक शक्तिले विगतका राजनीतिक दल र नेतृत्वको कार्यशैलीलाई गलत भन्दै आलोचना गर्ने तर आफूहरू सत्तामा पुगेपछि त्यही प्रवृत्ति दोहोर्याउने हो भने परिवर्तनको औचित्य के रहन्छ भन्ने प्रश्नसमेत गरेकी छन्।
उनले लेखेकी छन्, ‘पुरानोले त्यही काम गर्दा बेठीक, हामी नयाँले गर्दा चाहिँ कसरी ठीक हुन्छ ?’
तामाङको यो टिप्पणीलाई नयाँ राजनीतिक नेतृत्व र जनप्रतिनिधिको कार्यशैलीमाथि उठेको आत्मसमीक्षात्मक प्रश्नका रूपमा समेत हेरिएको छ।
विदेश भ्रमणबाट ज्ञान, सीप र अनुभव हासिल गर्नु आफैँमा नराम्रो होइन। तर भ्रमणको उद्देश्य, खर्च, उपलब्धि र त्यसले देशलाई दिने प्रतिफल स्पष्ट हुनुपर्छ। जनताको करबाट सञ्चालन हुने यस्ता भ्रमणको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित सांसद र संसदीय समितिकै हो।
परिवर्तनको नारा दिएर उदाएको रास्वपाका जनप्रतिनिधिले पनि पुरानै राजनीतिक संस्कार र प्रवृत्ति दोहोर्याउन थाले भने नयाँ र पुरानोबीचको भिन्नता व्यवहारमा कसरी देखाउने भन्ने आसिका तामाङको प्रश्नले सत्तारूढ दलभित्रै जवाफदेहिताको बहसलाई सतहमा ल्याएको छ।
